काठमाडौँ, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन सामान्य घटना भएकाले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ सरकार बनेसँगै नेपाली जनता उत्साहित भएको बताए ।
सरकार परिवर्तन हुनु ठूलो कुरा होइन, सरकार समय(समयमा परिवर्तन भइरहन्छ । अहिलेको परिवर्तनले नागरिकमा नयाँ आशा र भरोसा जगाएको छ, उनले भने ।
सरकारले भ्रष्टाचार नियन्त्रण, विकास निर्माण र जनतालाई राहत दिने कुरामा आफ्नो ध्यान केन्द्रित गर्ने उनको भनाइ थियो । उनले मुलुकको विकास, सुशासन कायम गर्दै आमजनताको हित हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि पनि आफू प्रधानमन्त्री हुँदा इमान्दारीका साथ काम गरेको उल्लेख गदै एमाले अध्यक्ष ओलीले यसपटक पनि जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्याए ।
प्रधानमन्त्री ओलीले मनसुनका कारण मुलुकका केही स्थानमा बाढी पहिरोबाट सडक, पुल भत्केका र जनधनको क्षति भएको वास्तविकता सुनाउँदै देशको भौगोलिक स्थितिले पनि यस्ता विपद्बाट जोगिन कठिनाइ भएको बताए ।
मन्त्रिपरिषद्को पहिलो बैठकले पनि दैवीविपत्ति जोखिम न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राखेको बताए ।
प्रधानमन्त्री ओलीले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका सम्बन्धमा गृहमन्त्रीले पनि प्राथमिकतामा साथ काम गरिरहेको उल्लेख गरे ।
उनले जाजरकोट भूकम्पपीडितको आवास निर्माणका लागि किस्ता रकम उपलब्ध गराउन पनि सरकार सकारात्मक रहेको बताए ।
प्रधानमन्त्रीले कीर्तिपुरस्थित क्रिकेट रंगशालामा तीनसय दिनभित्र प्यारापिट र फ्लड लाइटको व्यवस्था गरिने बताए ।