प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा छ भने सरकारी आवास बालुवाटारमा छ। बालुवाटारमा प्रधानमन्त्रीका परिवार र सहयोगीहरू पनि बस्न पाउँछन्।
कार्य सञ्चालन निर्देशिका, २०७७ (आठौँ संस्करण) अनुसार प्रधानमन्त्रीको मासिक पारिश्रमिक ७७,२८० रुपैयाँ हुन्छ। त्यसमा २,००० रुपैयाँ महँगी भत्ता थपिन्छ।
उनलाई सञ्चार सुविधाबापत ५,००० रुपैयाँ र मासिक मसलन्द तथा अतिथि सत्कारबापत १०,००० रुपैयाँ तोकिएको छ।
देशभित्र यात्राका क्रममा प्रधानमन्त्रीको दैनिक भ्रमण भत्ता ३,००० रुपैयाँ तोकिएको छ।
प्रधानमन्त्रीले आफ्नो सचिवालयमा ६५,१४० रुपैयाँ मासिक पारिश्रमिक दिने गरी एक जना प्रमुख स्वकीय सचिव राख्न पाउँछन्।
त्यसबाहेक एक जना स्वकीय सचिव, तीन जना सहस्वकीय सचिव, छजना उपस्वकीय सचिव र पाँच जना स्वकीय अधिकृत नियुक्त गर्न पाउँछन्। अन्य केही अधिकृत, चालक र कार्यालय सहयोगीसहित प्रधानमन्त्रीले आफ्नो सचिवालयमा बढीमा ३४ जना नियुक्त गर्न सक्छन्।
प्रधानमन्त्रीलाई मासिक ३०६ लिटर पेट्रोल र वार्षिक ४० लिटर मोबिल सुविधा उपलब्ध हुन्छ।
बीबीसीबाट