काठमाडौँ, असार । नेपाली कांग्रेसले 'समावेशिता र प्रादेशिक सन्तुलन' लाई आधार मानेर मन्त्री पठाउने निर्णय गरेको छ ।
शनिवार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले संविधानको धारा ७६ (२) बमोजिम गठन हुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
'अब संविधानको धारा ७६ (२) बमोजिम गठन हुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसको विधान २०१७ को संशोधनसहित धारा २२ (११) बमोजिम सहभागी हुने निर्णय गरिएको छ,' उनले भने ।
बैठकले सरकारमा सहभागी मन्त्रीहरु छनोट गर्ने मापदण्डबारे समेत निर्णय लिएको छ ।
कांग्रेसका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्दा मुख्य दुई आधारमा मन्त्री छनोट गर्ने भन्ने निर्णय भयो,' उनले भने, ' त्यो भनेको समावेशिता र प्रादेशिक सन्तुलन हो । हामीले सकेसम्म एकैपटक नाम दिने गरी छलफल गरिरहेका छौँ ।'