२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा बैठक

एमाले सांसदहरूले भने  :  "  प्रधानमन्त्रीले बहुमत गुमायौँ, राजीनामा देउ "

सोमवार , आषाढ २५, २०८१

 

काठमाडौँ, असार । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभा सोमबार बसेको बैठकमा सांसदहरुले भने,  'आकस्मिक समयमा बोल्दै प्रधानमन्त्रीको अविलम्ब राजीनामा  आउनुपर्छ ।' 

सांसदहरूले भने,' प्रधानमन्त्रीले बहुमत गुमाइसकेकोले सरकारमा बसिरहन नैतिक आधार गुमाइसकेका छन ।' 

सरकारले प्रकोप पीडित जनताको उद्धार, राहत र पुनःस्थापनामा प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै छिटोभन्दा छिटो बलियो सरकार आवश्यक भएको पनि सांसदहरूको भनाइ थियो । 

बैठकमा बोल्दै नेकपा(एमाले) कि सांसद विद्या भट्टराईले काम गर्नसक्ने सरकार बनाउन नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

उनले भनिन्,‘बाढी पहिरो र डुबानबाट बिस्थापित भएका तथा जोखिममा रहेका पीडित र प्रभावितहरूका लागि आवश्यक संरक्षण, राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकार गम्भीर हुनुपर्छ । तर आज सरकार कहाँ छ ? के छ भन्ने कुरामा हामी सबै प्रश्न र मौन भएर बस्नेस्थिति बनेको छ । 

सरकारलाई काम गर्न सक्ने बनाउनका लागि अब नयाँ सरकारलाई जिम्मेवारी दिनका लागि हामी तयार हुनुपर्छ भन्ने ध्यानाकर्षण गराउन चाहन्छु ।’

एमाले सांसद अच्युतप्रसाद मैनालीले विपद्ले देशभर धेरै घटनाहरू भइरहेका भएपनि सरकार कानमा तेल हालेर बसेको बताए । उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन माग गरे ।

उनले भने, ‘तमाम समस्याहरूका बाबजुद आज सरकार कानमा तेल हालेर बसेको छ । म प्रधानमन्त्री तथा गृहमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव पेस गर्छु ।'

'गृहमन्त्रीलाई तत्काल सदनमा आएर यी सबै घटनाहरूको बारेमा जानकारी दिन माग गर्छु । होइन भने नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिन चाहन्छु ।’

एमालेका सांसद किरणकुमार साहले पनि प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिए । उनले विपद्को यो समयमा बलियो र स्थिर सरकारको आवश्यकता रहेको बताए । 

बलियो सरकारले मात्रै प्रभावकारी ढंगले बाढी, पहिरो र अन्य प्रकोपहरूको सामना गर्न सक्ने उनले बताए ।

वर्तमान प्रधानमन्त्रीले आफ्नो बहुमत गुमाइसकेका छन् । जसले देशलाई थप अस्थिरता र अन्यौलमा पुर्‍याएको छ । संकटको घडीमा बलियो र स्थिर सरकारको आवश्यकता छ ।

जसले प्रभावकारी ढंगले बाढी, पहिरो र अन्य प्रकोपहरूको सामना गर्नसक्छ । प्रधानमन्त्रीले नैतिकताको जिम्मेवारी लिनुपर्छ र राजीनामा दिनुपर्छ ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार