२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एमाले संसदीय दल बैठक

प्रधानमन्त्रीलाई  भन्यो : 'अल्पमतमा पर्नुभो, तत्काल राजीनामा दिनुस्'

आइतवार , आषाढ २४, २०८१

 

काठमाडौँ, असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई अविलम्ब राजीनामा दिन माग गर्ने निर्णय गरेको छ ।

बैठकको निर्णयबारे जानकारी दिँदै संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले अल्पमतमा परेको काम चलाउ सरकारले अविलम्ब राजीनामा दिनुपर्ने निर्णय संसदीय दलले गरेको जानकारी दिए ।

“सरकार अल्पमतमा परेको छ, काम चलाउन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समय राजीनामा नदिइ पदमा बस्नु अनुचित हो”, प्रमुख सचेतक बर्तौलाले भने, “काम चलाउ सरकारलाई कुनै पनि महत्वपूर्ण निर्णय नगर्न बैठकले आग्रह गरेको छ, नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरिएको छ ।”

जनमत गुमाइसकेको सरकारले मुलुकलाई दुरगामी असरपर्ने निर्णय गर्नु संविधानविपरीत हुने भन्दै बैठकले सरकारलाई सचेत गराएको उनले जानकारी दिए । 

“हाम्रो दलको बैठकले आजै तत्काल राजीनामा दिन माग गरेको छ”, प्रमुख सेचतक बर्तौलाले भने, “प्रधानमन्त्रीले यही असार २८ प्रतिनिधिसभामा विश्वासको प्रस्ताव प्रस्तुतिका लागि सङ्घीय संसद्लाई पत्र पठाउनुभएको छ, यदि उनले राजीनामा नदिएमा एमालेले प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।”

यही असार १७ गते नेपाली कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको थियो ।  उक्त सहमतिपछि एमालेले यही असार २० गते वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सबै मन्त्री सरकारबाट बाहिरिएका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार