काठमाडौँ, बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार उनीहरुसँग भएको द्विपक्षीय भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले सो आग्रह गरेको जनाइएको छ ।
कतारी अमिर राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मंगलबार अपराह्न यहाँ आएका हुन् ।
राष्ट्रपति पौडेलले आफूहरूका लागि विपिनको रिहाइ महत्वपूर्ण चासोको विषय रहेको बताएको र रिहाइका लागि कतारका अमिरलाई पहल गरिदिन आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले सञ्चाकर्मीलाई जानकारी दिएका छन ।
गत ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी विपिन जोशी बेपत्ता छन् । सो अवसरमा कतारका अमिरले यसबारेमा विगतमा पनि चासो लिएर पहल गरेको र यसबारेमा थप पहल गर्ने पनि बताएका थिए । रासस