२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जाजरकोट भूकम्प (अपडेट) 

रुकुम पश्चिम   : " दश हजार अस्थायी आवस निर्माण, पीडित सरे "

शनिवार , पौष २१, २०८०

त्रिवेणी (रुकुम पश्चिम), पुस । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम जारी छ । भूकम्प गएको दुई महिनाभन्दा बढी सयम बितिसक्दा पनि सबै भूकम्पपीडित अस्थायी आवासमा सर्न सकेका छैनन् । 

अझै पनि भूकम्पपीडित त्रिपालको सहाराले रात काटिरहेका छन् । दुई महिनाको अवधिमा जिल्लाभर दश हजार ४२३ अस्थायी आवास निर्माण सम्पन्न भए पनि सबै पीडितको अस्थायी आवास निर्माण हुन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्लाभर सात हजार ८७ अस्थायी आवास निर्माणको चरणमा रहेका छन् । हालसम्म सबैभन्दा बढी सानीभेरी गाउँपालिकामा चार हजार ४१ अस्थायी आवास निर्माण सम्पन्न हुँदा सबैभन्दा कम मुसिकोट नगरपालिकामा २४ मात्र निर्माण भएका छन् । 

त्यस्तै आठबीसकोट नगरपालिकामा तीन हजार १४, चौरजहारी नगरपालिकामा दुई हजार  २८९, त्रिवेणी गाउँपालिकामा  ९३८ र बाँफीकोट गाउँपालिकामा ११७ अस्थायी आवास निर्माणको काम सम्पन्न भई लाभग्राही अस्थायी आवासमा बस्न थालेको निमित्त प्रजिअ बढुवाले जानकारी दिनुभयो ।

हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट २३ हजार ६०८ लाभग्राहीका लागि स्थानीय विपद् न्यूनीकरण कोषमा रु २५ हजारका दरले रु ५९ करोड दुई लाख रकम पठाइएको छ । 

स्थानीय विपद् कोषबाट भने २१ हजार  ११५ लाभग्राहीले रु २५ हजारका दरले रु ५२ करोड ८१ लाख रकम प्राप्त गरेका छन् । 

हालसम्म जिल्लाभर २७ हजार ६८२ लाभग्राहीको प्रहरीले लगत सङ्कलन गरेको छ । सङ्कलनको काम अझै जारी रहेकाले लाभग्राहीको सङ्ख्या साढे ३० हजार पुग्न्ने जिल्ला प्रशासन कार्यालयले अनुमान गरेको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार