काठमाडौँ, मंसिर । दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर नेपाल भ्रमणमा आउने भएकी छन् ।
परराष्ट्र स्रोतका अनुसार नेपालका उच्च अधिकारीलाई उनले मंसिर २० र २१ मा भेटवार्ता गर्न लागेकी हुन् ।
गत नोभेम्बरमा वासिंटन डीसीस्थित नेपाली राजदूतावासमा परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्दै दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर ।
अहिले अमेरिकी सहयोग नियोग (यूएसएआईडी) का एसिया ब्युरो हेर्ने सहायक प्रशासक माइकल सिफर नेपालमा भेटवार्तामा व्यस्त छन् ।
उनको भेटवार्तालाई लिएर परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित अमेरिकी दूतावासले गृहकार्य गरिरहेको छ । वरिष्ठ निर्देशक लाउबाचरले यसअघि फागुनको दोस्रो सातामा नै नेपाल भ्रमण गर्ने तयारी थियो ।
तर त्यसबेला नेपाल सरकारले अमेरिकी जासुसी संस्था ‘सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी’ (सीआईए) का निर्देशक (प्रमुख) विलियम्स जोसेफ बर्न्सको भ्रमण रोकिएपछि लाउबाचरको भ्रमण पनि स्थगित भएको थियो ।सरकारले बर्न्सको फागुन ३ र ४ मा हुने भनिएको नेपाल भ्रमण रोकेको थियो ।
लाउबाचरले दक्षिण एसिया क्षेत्रलाई हेर्ने अमेरिकी अधिकारी हुन् । उनको पद रियर एडमिरल नेपालको उपरथीसरहको हो ।
नेपाल भ्रमणको गृहकार्य गरिरहेकी लाउबाचरले मंसिर २३ मा अमेरिकाको वासिङ्टनडीसीस्थित नेपाली दूतावास पुगेर राजदूत श्रीधर खत्रीलाई समेत भेटिसकेकी छन् ।
उक्त शिष्टाचार भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्धका साझा चासोका विषयमा विचार आदानप्रदान गरेको दूतावासले जनाएको थियो ।
लाउबाचरले भारतस्थित नेपाली दूतावासमा सैनिक सहचारीको रूपमा काम गरेकी छन् । साथै, उनले सन् २००९ मा अफगानिस्तानमा समेत काम गरिसकेकी छन् ।
अमेरिकामा राष्ट्रिय सुरक्षा परिषद् ह्वाइट हाउसअन्तर्गत रहेको छ ।
नेपालका परराष्ट्रमन्त्री एनपी साउदले केही समयअघि अमेरिकाको भ्रमण गरेपछि अमेरिकाबाट नेपालमा हुन लागेको यो नै उच्च तहको भ्रमण हो ।
मन्त्री साउदले कात्तिक १२ देखि १९ सम्म वासिङ्टन डीसीको भ्रमण गरेका थिए । सन् २०१८ पछि पहिलो पटक नेपालबाट परराष्ट्रमन्त्री तहमा अमेरिकाको भ्रमण भएको थियो ।
अमेरिका भ्रमणका दौरान भएको संयुक्त प्रेस कन्फरेन्समा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपाल अमेरिकाको इन्डो–प्यासिफिक क्षेत्रमा महत्त्वपूर्ण साझेदार रहेको उल्लेख गरेका थिए ।
अमेरिकाले प्रशान्त र हिन्द महासागरमा रहेको क्षेत्रलाई इन्डो–प्यासिफिक नाम दिएर सहकार्य गर्दै आइरहेको छ ।
अमेरिकाबाट बाइडेन प्रशासनका अधिकारीहरूसहित अमेरिकी सांसदहरूले पछिल्लो समय लगातार रूपमा नेपालको भ्रमण गरिरहेका छन् ।
गत वर्ष माघ १६ देखि १७ मा राजनीतिक मामिला उपमन्त्री भिक्टोरियो नुल्यान्डले नेपालको भ्रमण गरेकी थिइन् ।
त्यसपछि माघ २४–२५ मा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसआईडी) की प्रमुख समान्था पावर नेपाल भ्रमणमा आइन् ।
उनीपछि फागुन १ र २ सम्म दक्षिण तथा मध्यएसिया मामिला विभागकी उपसहायक राज्यमन्त्री अफ्रिन अख्तर काठमाडौंमा आइन् ।
भदौ तेस्रो साता अमेरिकी सेनेटर (सासद) क्रिस भान होलेन र सोही अवधिमा अमेरिकी अन्य सांसदहरूले नेपालको भ्रमण गरेका थिए ।
नेपाल–अमेरिकाको सन् १९४७ अप्रिल २५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
- कान्तीपुरबाट