२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

‘सांसदसँग रासस संवाद’

नेत्री राजभण्डारी भन्छिन  : " राष्ट्रिय हितका बिषयमा सबैको साझा धारणा आउनुपर्छ " 

'एक पक्षले उठाएका विषयमा अर्काले खण्डन  होईन त्यसमा सुधार  गर्ने बानी बसाऔँ '

मंगलवार , कार्तिक २१, २०८०

काठमाडौँ, कात्तिक । नेपाली कांग्रेसकी नेत्री सपना राजभण्डारी राष्ट्रियता र राष्ट्रिय हितका विषयमा देशका सबै राजनीतिक शक्तिको साझा धारणा आउनुपर्ने बताएकी छन । 

जनता र देशका हितका सवालमा सबै शक्ति एकै ठाउँमा उभिनुपर्नेमा जोड दिँदै उनले एक पक्षले उठाएका विषयलाई अर्काले खण्डन गर्दै जुहारी खेल्ने काम भइरहेकामा त्यसमा सुधारको खाँचो औँल्याएकी छन । 

सांसद राजभण्डारी भन्छिन, “मुलुकको हित हुने विषयमा सरकार, प्रमुख प्रतिपक्षलगायत पक्ष एक ठाउँमा उभिनुपर्छ, अहिले त्यस्ता विषयमा समेत सदनमा दलहरूबीच जुहारी खेले जस्तो अनुभव भइरहेको छ ।”

नेत्री राजभण्डारीले नेतृत्वले देश, समाज र जनतालाई ठिक बाटाबाट डोहोर्याउन पार्टीको आन्तरिक जीवनमा प्रशिक्षण दिनुपर्नेमा जोड दिएकी छन । 

‘सांसदसँग रासस संवाद’मा प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट निर्वाचित सांसद उनले विभिन्न विधि र प्रक्रिया रहेका कारण राजनीतिकरूपमा बाहिरबाट कल्पना गरिए जस्तो आफूले सदनमा महसुस गर्न नपाएको उल्लेख गर्दै कानुन निर्माणका हिसाबले जति काम गर्नुपथ्र्यो, त्यो अनुभव गर्न नपाएको बताउँछिन । 

पछिल्लो निर्वाचन परिणामले प्रमुख राजनीति दलप्रति जनतामा केही वितृष्णा आएको पक्षलाई नकार्न नमिल्ने बताउँदै सांसद राजभण्डारीले आस्थाका आधारमा नभई जनताकेन्द्रित कार्यक्रम ल्याएर तिनमा उत्साह भर्न सकिने धारणा छ ।  

उनको कार्यक्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाको नेवारी समुदायको सांस्कृतिक सम्पदा, जात्रा, डबली र मठमन्दिर भएको क्षेत्र छ । 

नेपाल विद्यार्थी सङ्घबाट राजनीति यात्रा प्रारम्भ गरेकी सांसद राजभण्डारीले काठमाडौँ जिल्लामा पार्टी सङ्गठन विस्तारमा सक्रियपूर्वक योगदान पुर्याउँदै आएकी छन । 

सहरी र सानो निर्वाचन क्षेत्र भएकाले खानेपानीबाहेक विकास निर्माणका हिसाबले मतदाताको खासै गुनासो नआएको सांसद राजभण्डारीले बताईन ।  निर्वाचन क्षेत्र नं ८ का मतदाता संस्कृति संरक्षण सम्बन्धी विषय धेरै उठाउँछन् ।

विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका, स्वयम्भूसहित यहाँ नेवारी संस्कृति धेरै छ । इन्द्रजात्रा र अरू जात्रा तथा गुठीका संरक्षणको विषय प्रखररूपमा उठ्ने गरेको छ ।

पुरातात्त्विक महत्त्व बोकेको क्षेत्र भएकाले यसको संरक्षण र संवद्र्धन गर्नु राज्यको दायित्व भएको विचार प्रकट गर्दैसांसद राजभण्डारीले ती संरचना र संस्कृतिलाई जोगाउन तथा व्यवस्थित गर्न सकिएमा संसारकै आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सकिने प्रशस्तै सम्भावना बोकेको बताईन । 

सदनमा शून्य, विशेष र आकस्मिक समयमा विभिन्न महत्त्वका जल्दाबल्दा विषय उठाइए पनि सम्बोधन भने नभएको गुनासो गर्दै नेत्री राजभण्डारीले असल जनप्रतिनिधि बन्न कानुन निर्माणको जिम्मेवारी पूरा गर्दै जनताका समस्या बुझ्ने र सम्बोधनमा लाग्नुपर्नेमा जोड दिएकी छन । 

सांसद राजभण्डारीले सदनमा हुने बहसको प्रत्यक्ष प्रसारणको व्यवस्था भई जनताले नजिकबाट नियालिरहेकाले अभिव्यक्ति र प्रस्तुतीकरणमा देखिने अशोभनीय विषयलाई तत्काल सुधार गर्न तत्तत् राजनीतिक दलका नेतृत्वले सांसदलाई सुझाव र प्रशिक्षण दिनुपर्ने खाँचो औँल्याएकी छन । 

कांग्रेस नेता नवीन्द्रराज जोशीकी धर्मपत्नीले महिला भएकै कारण सदनमा अवसर प्राप्त गर्ने सन्दर्भमा असहजता भोग्नु नपरे पनि बोल्न समय दिँदा कहिलेकाहीँ आफ्नो नाम पछि परेको हो कि भन्ने अनुभूति सुनाएकी छन ।  

एक प्रसङ्गमा उनले भनिन्, “अहिले निर्वाचन प्रणाली खर्चिलो छ, निष्ठाको राजनीतिक ओझेलमा परेको पनि सुनिएको छ, आचारसंहिता पालना राम्रोसँग हुन सकेन । राम्रो अभ्यासलाई होइन, नराम्रा विषयलाई अनुसरण गरिँदा यो अवस्था आएको हो ।”

विधेयक ल्याउने विषयमा सांसदलाई पूर्वजानकारी दिने तथा त्यसबारे छलफल गर्ने र बुझाउने विषय संसदीय दलमा खासै नहुने गरेको उनले बताईन । 

उनले भ्रष्टाचारका कारण जनतालाई छिटोछरितो र सुलभ रूपमा सेवा प्राप्त गर्न चुनौती खडा भइरहेको अनुभव पनि सुनाएकी छन । 

उनको भनाईृ छ, “भ्रष्टाचार, अनियमितता र महँगीविरुद्ध जनताले निरन्तर खबरदारी गर्नुपर्ने देखिएको छ अन्यायविरुद्ध आवाज नउठाएसम्म गलत कार्य रोकिँदैन । सांसदले पनि सदनमा आफ्नो आवाज मुखरित गर्नुपर्छ ।”

अहिले विदेश पलायनको स्थिति हेर्दा केही वर्षमै युवा, विद्यार्थी मुलुकमा रहलान् र भन्ने प्रश्न उब्जिरहेको उल्लेख गर्दै सांसद राजभण्डारीले मुलुकको ठूलो जनशक्ति युवालाई पढाइ सकिने बित्तिकै रोजगारीको सुनिश्चिता दिलाउन विभिन्न राष्ट्रिय कार्यक्रम ल्याउन आवश्यक रहेको बताईन ।  

उनले भनिन्, “विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय शिक्षा दिने, बन्द रहेका उद्योग पुनः सञ्चालन गर्ने, थप रोजगारीका क्षेत्र विस्तारलाई प्राथमिकता दिने गर्नुपर्छ, यसले तिनमा देशभक्ति बढाउँछ र रोजगारी पनि दिलाउँछ ।”

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार