दमौली (तनहुँ), कात्तिक। तनहुँको मानुङकोटमा जाडो बढेसँगै पर्यटक पनि बढेका छन् । बिहानको घामको किरणसँगै कुहिरोले सर्लक्क ढाकेको दमौली बजार हेर्नका लागि पर्यटक बढेका हुन् । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ ।
महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।
त्यही कुहिरोले ढाकेको दृश्य र सूर्योदय अवलोकन गर्न तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा आन्तरिक पर्यटकको चहल पहल सुरु भएको छ । जाडो मौसम सुरु भएसँगै यहाँ पर्यटकको आगमन बाक्लिएको हो । गर्मी मौसममा प्रायः सुनसान रहने मानुङकोटमा चिसो मौसममा पर्यटकको बाक्लो उपस्थिति रहने गरेको छ ।
अहिले दसैँ बिदाका कारण पनि बिहानैदेखि पर्यटकको आगमन सुरु भएको स्थानीय अनिल अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “अब मानुङकोटमा पर्यटकको चहलपहल बढ्ने बेला भयो, बडादसैँको नवौ दिन आज बिहानै एक हजारभन्दा बढी पर्यटकको आगमन भयो । अधिकारीका अनुसार राति मानुङकोटमै बास बसेर बिहानको दृश्य हेर्नेहरु पनि बढेका छन् ।
त्यसका अलवा बिहानै मानुङकोट पुग्ने पनि उत्तिकै छन् । दसैँको समयमा काठमाडौँबाट दमौली आउनुभएकी पार्वती पौडेलले मानुङकोटको दृश्य लोभलाग्दो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँबाट देखिने दृश्यले मनै लोभ्यायो, एकपटक आएपछि फेरि आउन मन लाग्ने रहेछ ।
जाडो महिनामा मानुङकोटमा पर्यटककको राम्रो चहलपहल हुने वडाध्यक्ष विष्णुकुमार श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो, “मानुङकोटको विशेषता भनेको जाडोयामको हो, जाडोयाममा कुहिरोले ढपक्क ढोकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्न विभिन्न ठाउँबाट पर्यटक आउँछन् ।”
मानुङकोटमा पर्यटकको चहलपहल बढेपछि होटल खुुल्ने क्रम बढेको छ । उहाँले भन्नुभयो, “मानुङकोटको पर्यटन प्रबर्द्धनका लागि नगरपालिकाले पनि प्रयास गर्दै आइरहेको छ । प्रत्येक वर्ष मानुङकोटबाट पुलिमराङसम्म अल्ट्रा म्याराथन प्रतियोगिता हुँदै आएको छ ।
धौलागिरी, माछापुच्छ्रे अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेकाहरु पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् ।
खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।