२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संसदमा सांसद 

सांसद झा भन्छन  : "  सांसदलाई पनि ‘असाइनमेन्ट’ दिनुपर्छ "

 'सदनलाई भाषण होइन विचार, नीति मन्थन गर्ने ठाउँ बनाउनुपर्छ' 

आइतवार , आश्विन २८, २०८०

 

काठमाडौँ, असोज ।  सांसद मनिष झा स्पष्ट र तर्कपूर्ण ढङ्गले आफ्ना कुरा खुलेर राख्नसक्ने व्यक्तिका रुपमा परिचित  छन ।  व्यावसायिक र राजनीतिक जीवनलाई लामो समयदेखि एकैसाथ अगाडि बढाएका उनका लागि सांसदको भूमिका भने यो पहिलो हो । 

राजनीतिमा शुद्धीकरण गर्दै मुलुकमा सुशासन कायम गर्ने लक्ष्यका साथ पछिल्लो पटक उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीकोतर्फबाट समानुपातिक सांसद बन्नुभएका झा हालको सदनका कतिपय अभ्याससँग विमति राख्छन ।

उनी सदनलाई प्रभावकारी बनाउन भाषण होइन विचार, नीति मन्थन गर्ने ठाउँका रुपमा विकास गर्नुपर्छ भन्ने धारणा राख्छन । 

सांसदसँग राससका लागि संवाद गर्नेका क्रममा सांसद झा सदनमार्फत सार्वजनिक महत्वका विषयमा जनतालाई सुनाउनका लागि मात्रै बोल्नेभन्दा पनि नीतिगत तहमा कसरी प्रभाव पार्ने भन्ने उद्देश्य लिएर अभ्यास गर्नुपर्ने भनाइ राखे । 

उनी सदनमा केही सांसदले भाषण गर्दा ‘असीमित समय’ पाउने अभ्यासप्रति पनि असहमत छन । 

“अहिले पनि पूर्वप्रधानमन्त्री सदनमा आउँछन र साढे तीन घण्टा सम्म भाषण गरेर जान्छन । १५ मिनेटमै सकिने विषयका लागि किन त्यति धेरै समय दिएको थाहा छैन”, उनले भने, “एक जना सांसदले त भाषण सकिएपछि उनले के बोले भनेर अर्को सांसदले सोधेको घटना पनि छ ।” 

स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका  झासँग विज्ञापन, व्यवस्थापन, नीति र बजार अनुसन्धानका क्षेत्रमा डेढ दशकभन्दा बढी काम गरेको अनुभव छ । 

संसदीय अभ्यासलाई बाहिरबाटै नियालिरहनु भएका आफूसँग १० महिनाअघि सांसद हुँदै गर्दा धेरै हौसला, जिम्मेवारी र काम गर्ने चाहना भएको उनले सुनाए । “गत वर्ष पुस ७ मा सांसदका रुपमा सपथ लिँदै गर्दा धेरै काम गर्छु भन्ने लागेको थियो । 

सबैतिरबाट प्राप्त हौसलाले आफ्नो जिम्मेवारी बढेको महसुस भएको थियो”, उनले भने, “त्यसको केही समयमै देखिएको राजनीतिमा बदलिँदो समीकरणले उत्साहले मलजल पाएन ।”

सांसद झा विधायिकामा अध्ययन र विषयप्रतिको चिन्तनमा कमी भएको देखिन्छ । “सांसदहरु त सबैका लागि रोल मोडल बन्न सक्नुपर्ने हो, केही उदाहरणीय सांसद पनि हुनुहुन्छ तर त्यो सङ्ख्या निकै कम छ”, उनले भने, “त्यो सङ्ख्या २७५ मा २५ मात्रै होला ।” 

केही सांसदहरु होहल्ला गर्ने, साइड टक गर्ने, हाजिर गरेर लबिमा बस्ने, चिया खाने र गफ मात्रै गर्ने र आफ्नो नेताले जे बोले पनि टेबुल ठोकिहाल्ने जिम्मेवारीमा मात्रै सीमित भएकामा विमति राख्छन ।

कुराकानीका क्रममा जनताका प्रतिनिधिलाई पनि सदनमा ‘असाइनमेन्ट’ दिने अभ्यास सुरु गर्नुपर्ने धारणा राखे ।  जनताले आफ्नो अमूल्य मत दिएकाले त्यसको सम्मानका लागि पनि सांसदमा पर्याप्त अध्ययन र असाइनमेन्ट जरुरी भएको उनको तर्क छ । 

“सांसद बन्नु र कुनै विषयमा गहनरुपमा जानकार हुनु फरक हो, सांसदले आफूले कुनै विषयमा नीतिगत तहमा कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषयमा सचेत हुनैपर्छ”, उनले भने । 

सार्वजनिक लेखा समितिका सदस्यसमेत रहनुभएका सांसद झाले समितिको असल अभ्यास सदनमा समेत लागू गर्नुपर्ने उहाँले बताए । 

“संसदीय समितिका बैठकमा म पार्टी बिर्सिन्छु । सङ्घीय सदनको पूर्ण बैठकमा पनि हामीले दल बिर्सनुपर्छ, दलका नेता बिर्सिर नीति सम्झनुपर्छ”, उनले भने, “सदनमा पनि कुनै विषयमाथि घनिभूत छलफल र अभ्यास गर्न पाए मात्रै सदनलाई प्रभावकारी बनाउन सकिन्थ्यो ।” 

विधायिकाको भूमिका कानुन निर्माणसँगै सरकारका काम कारबाहीमा पनि हुने उनको भनाइ छ ।  जनप्रतिनिधिहरु जिम्मेवारीलाई कसरी कुशलतापूर्वक निर्वाह गर्नेभन्दा पनि मतदाता रिझाउने र ‘स्टन्ड’मार्फत लोकप्रिय हुनेमा केन्द्रित हुनु दुःखद् भएको टिप्पणी गरे ।  

“यहाँ त सपथ ग्रहणको भोलिपल्टदेखि अर्को चुनाव कसरी जित्ने भन्ने चिन्ताले खाने रहेछ, नीति राम्रो बनाउनेभन्दा पनि कसरी निर्वाचन क्षेत्रमा बजेट बढाउने भन्नेमै ध्यान जाँदा उनीहरुको भूमिका कमजोर बन्न पुग्छ”, उनले भने । 

“तपाईं हेर्नुभयो भने चैतदेखि असारसम्म निर्वाचनमा बजेट पार्नका लागि आधाभन्दा बढी सांसद सिंहदरबार धाउँछन । निर्वाचन क्षेत्रमा बजेट पार्न सकिएन भने अर्को पटक निर्वाचन जित्न गाह्रो हुन्छ”, उनले भने, “यसले विधायिकाका रुपमा पाएको मुख्य जिम्मेवारीको कमजोर बन्न पुग्छ ।”

अन्य राजनीतिक दलसँगै यतिबेला रास्वपा पनि विधायिकाको भूमिका भुलेर ‘मिसन २०८४’मा केन्द्रित भएको हो भन्ने प्रश्नमा सांसद झा त्यो सत्य नभएको बताए । 

“हामीहरु आफ्नो भूमिकाप्रति सचेत छौँ, ‘परिवर्तनका लागि मिसन ०८४’, हाम्रो पार्टीको आधिकारिक दस्तावेजमा पनि छैन, मतदाताबाट आएको यो आवाजलाई हामीले अपनाएको मात्र हो”, उनले भने, “यसले हाम्रोे संसद् र संसदीय समितिमा हुने उपस्थिति र प्रस्तुतिमा फरक परेको छैन ।” 

उनले पार्टीभित्र पनि सांसदको भूमिकाबारे निर्ममरुपमा समीक्षा भइरहेको बताए ।  “हाम्रा साथीहरु विदेश भ्रमणमा जान थाल्नुभएको, विदेशका कार्यक्रममा लालचा बढेको वा संसद्मा हाजिर गरेर पार्टीको कार्यक्रम छ भनेर निस्कने अभ्यास बढेको हो कि भनेर हामीले निरन्तर समीक्षा र आत्मसात् गरिरहेका छौँ”, उनले भने ।  

सांसद झा कानुन निर्माणमा सदनमा सत्तापक्षले बहुमतको दम्भ देखाउने गरेको बताए । “सदनमा सत्तापक्षको बहुमतको दम्भ घातक भइरहेको छ । 

मैले सदनमार्फत पनि यो कुरा उठान गरिसकेको छु”, उनले भने, “कहिलेकाहीँ मलाई यो बहस अर्थहीन जस्तो लाग्छ । जति नै तर्कपूर्ण बहस र अध्ययन गरे पनि बहुमतका आधारमा बिल पास भइहाल्छ ।”

उनले जनताको चाहना र भावनाले संसद्मा स्थान नपाएको गुनासो गर्नुभयो । “जनभावना सुन्ने क्रममा हामी देशका विभिन्न जिल्लामा पुग्यौँ । अहिले जनतामा ‘पोलिटिकल फ्रस्टेसन’ बढेको पायौँ”, उनले भने, “त्यसलाई चिर्दै जनतामा आशा, भरोसा र विश्वास जगाउने जिम्मेवारी हाम्रै काँधमा आइपरेको छ ।”

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार