काठमाडौँ, असोज । विद्यालय शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्ने कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन थापाले बताएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद थापाले भने, 'संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गरे मात्रै शिक्षा विधेयकले सार्थकता पाउँछ ।'
संसदमा विद्यालय शिक्षा विधेयक, २०८० विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले थपे, 'विद्यालयमा पढिरहेको विद्यार्थी पढिसके पछाडि त्रिभुवन विश्वविद्यालयतिर जान्छु भन्ने नभइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर जान्छन ।'
उनले विद्यालय शिक्षा विधेयकलाई टुंगोमा पुर्याउनुपर्ने जिम्मा अब सांसदको हातमा रहेको बताए ।
बृहत् छलफल गरेर उल्टो भएको विधेयकलाई सुल्टो बनाउन जरुरी रहेको उनको भनाइ छ । शिक्षण पेशालाई आकर्षक, मर्यादित पेसा बनाउनुपर्ने उनको भनाइ थियो ।
शिक्षकहरूको तलब सबैभन्दा उच्च हुनुपर्ने भन्दै शिक्षकका सकारात्मक कुरालाई ग्रहण गर्नुपर्नेसमेत उनले बताए ।
थापाले एक वर्ष नै लागे पनि यो संसद्ले विधेयक बनाइसकेपछि अर्को १५–२० वर्ष नेपालको विद्यालय शिक्षालाई यसले मार्ग दर्शनगर्ने बताए।
'दुई महिना लागोस् पाँच महिना लागोस्, साथीहरुले जनतामा लैजानुपर्छ भन्नुभएको छ,समितिले पनि त्यो काम गर्नसक्छ ।'
'सबै सरोकारवालालाई बोलाउन सक्छ, छलफल गराउन सक्छ । बृहत् छलफल गरेर उल्टो भएको विधेयकलाई सुल्टो बनाउनुपर्नेछ,' उनले भने ।