२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

ढिकी, जाँतोको संरक्षण गर्दै म्याग्दीका आमा समूह

सोमवार , आषाढ २५, २०८०

 

म्याग्दी,  असार । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ कलेजाबाङस्थित महतारे आमा समूहले परम्परागत ढिकी, जाँतोको संरक्षण गरेका छन् ।

परम्परागतरुपमा कुटानी र पिसानीको लागि प्रयोग हुँदै आएका ढिकी, जाँतो हराएर जाने अवस्था आएपछि सामुदायिक भवन नै बनाएर संरक्षण गरिएको आमा समूहका अध्यक्ष सन्तु भण्डारीले जानकारी दिनुभयो ।  

विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानीपिसानीका लागि जाँतो र ढिकीको प्रयोग गर्ने भए पनि अहिले हराएर जाने अवस्था आएपछि परम्परागत कुटानीपिसानीका साधनलाई संरक्षण गरिएको उहाँले बताउनुभयो । 

“घरायसी प्रयोजनका लागि आधुनिक मिलमा नै कुटानीपिसानी गर्ने प्रचलन छ, पूजाआजा हुँदा भने सामुदायिक भवनकै ढिकी र जाँतोमा कुटानीपिसानी गर्छौं, परम्परागत जीवनशैलीबारे नयाँ पुस्तालाई जानकारी गराउन पनि यसलाई संरक्षण गरेका हौँ”, उहाँले भन्नुभयो । 

आमा समूहले गण्डकी प्रदेश सरकार र रघुगङ्गा गाउँपालिकाको सहयोगमा भवनसँगै खेल मैदानसमेत निर्माण गरेका छन् । खेल मैदान निर्माण भएपछि महतारे, कोसेपानीलगायतका बस्तीका बालबालिकालाई खेल खेल्नका लागि सहज भएको छ ।

गण्डकी प्रदेश सरकारमार्फत भौतिक पूर्वाधार विकास कार्यालयमार्फत रु चार लाख ५० हजार र गाउँपालिकामार्फत रु पाँच लाख ३४ हजार बजेटबाट आमा समूहको भवन र खेलमैदान निर्माणसँगै घेराबारसमेत निर्माण गरेका छन् ।

 नवनिर्मित भवनको एउटा कोठामा ढिकी र जाँतोलाई राखिएको छ भने अर्को कोठालाई समूहको बैठक कक्ष बनाइएको छ ।

भवन निर्माण भएपछि समूहको बैठक बस्न व्यक्तिको घर, आँगन र खुला चौतारीमा बस्नुपर्ने बाध्यता हटेको आमा समूहका सचिव राधिका खत्रीले जानकारी दिनुभयो । 

भवन, खेलमैदान र घेराबार गर्न आमा समूहले समेत नगद रु करिब ५० हजार लगानी गरेका छन भने जनश्रमदानसमेत गरेका छन् ।रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार