२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

हाम्रा - गाउँघर 

सडकले नास्यो गाउँको सौन्दर्य  : " सुविधा भन्दा सास्ती पाे धेरै "

आइतवार , आषाढ ३, २०८०


गलेश्वर, असार । असार सुरु भएको छ । मनसुन सक्रिय नभएकाले पानी परेको छैन । पानी पर्न थालेपछि बाढी र पहिरोको जोखिम बढ्ने हुँदा आवागमनमा समस्या हुने गर्दछ । वर्षा सुरु नहुँदै यहाँका ग्रामीण सडकमा यातायातका साधन सञ्चालनमा सास्ती हुने गरेको छ ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि सोही गाउँपालिका–५ मा पर्ने देविस्थान गाउँ जाने सडकमा यातायातका साधन नगुडेको डेढ महिना भयो । सामान्य वर्षा हुँदासमेत बाटो बिग्रिएपछि दरवाङबाट चारघण्टा पैदल हिँडेर स्थानीय जाउआउ गर्न बाध्य भएका देवीस्थानका प्रेम सिउथानी मगरले बताउनुभयो । 

गाउँपालिका तथा नगरपालिकाले बजेट पारेर निर्माण भएका धेरै सडकको अवस्था वर्षाको समयमा बिग्रिने गरेको दरवाङका व्यवसायी अमृत सापकोटाको भनाइ छ । उहाँले गाउँपालिकाले करोडौँ बजेट विनियोजन गरेर गाउँमा सडक खने पनि गाडी नचल्दा सास्ती खेप्नु परेको बताउनुभयो । 

उपभोक्ता समितिमार्फत निर्माण भएका धेरै सडक बिना नापजाँच खनिएको हुँदा गाडी गुड्ने खालको नभएको सापकोटाको भनाइ छ । डेढदशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा बेग्लै रौनक थियो । बस्ती मोटरबाटोले जोडिएका थिएनन् । 

सदरमुकाम बेनी बजारबाट गाउँ उक्लिन घोडा चढ्नुपथ्र्यो वा पैदलै हिँड्नुपथ्र्यो । भारी बोक्ने भरिया र घोडा खच्चडको बथानले बाटोको यात्रा रमाइलो हुन्थे ।

अहिले जिल्लाका छ स्थानीय तहका ४५ वडामध्ये ४४ वडाका प्रत्येक टोल टोलमा सडक पुगेको छ । धवलागिरि गाउँपालिका–१ गुर्जा बाहेक सबै वडाका बस्ती–बस्तीमा सडक पुगेको छ । स्थानीय सरकारको स्थापनापछि पहिलो प्राथमिकतामा सडक परेको छ ।

पाँच वर्षको अवधिमा सङ्घ, प्रदेश र स्थानीय तहको बजेटबाट जिल्लाका छ  स्थानीय तहमा ७४ ग्रामीण सडक निर्माण भएका पूर्वाधार कार्यालय एवम् स्थानीय तहको तथ्याङकमा उल्लेख गरिएको छ । सडक विस्तार भएसँगै ग्रामीण जनजीवनमा परिवर्तन ल्याए पनि प्राकृतिक स्रोतको विनास उत्तिकै गरेको जानकार बताउँछन् । 

ग्रामीण सडकका कारण ऐतिहासिक र पुरातात्विक सम्पदा नासिँदा बर्खाको समय ती सडकमा ठूला–ठूला पहिरो जाँदा मानवीयसँगै भौतिक सम्पत्तिको ठूलो क्षति भइरहेको छ । बिना इन्जिनियरिङ धमाधम निर्माण भएका सडकले गाउँको सुन्दरता घटाएको छ भने पर्यावरणमा पनि नकरात्मक असर पु¥याइरहेको छ । 

सडकका कारण पछिल्लो समय पानीका मुहानसुक्ने, मौलिक सम्पदा मासिनुका साथै कतिपयलाई घरबारविहीन बनाएको स्थानीय बताउँछन् ।

ग्रामीण क्षेत्रका धेरैजसो सडकमा हिउँदमा गाडी गुडे पनि वर्षा सुरु भएपछि गाडी चल्न सक्दैनन् । गाडी नगुड्दा स्थानीयवासी पहिलेकै जस्तै पैदल यात्रा गर्नुपर्छ भने दैनिक उपभोग्य सामान पनि बोकेरै ल्याउनुपर्ने बाध्यता छ ।

“जिल्ला सदरमुकाम बेनी बजार र नगरपालिका क्षेत्रमा मात्रै होइन, पाँचवर्ष अघिसम्म निकै दुर्गम र अनकण्टार मानिने ठाउँमासमेत अहिले सडक पुगेको छ” बेनी बजारका नैनकुमार श्रेष्ठले भन्नुभयो, “सडकले गाउँका जनतालाई सुविधा पनि दिएको छ र सास्ती पनि । 

बर्खाको समयमा सडककै कारण बाढीपहिरोको जोखिम बढेको छ भने गाडी नचल्दा जोखिम मोलेर पैदलयात्रा गर्नुपर्ने बाध्यतामा नागरिक छन् ।”
 
मालिका गाउँपालिका–६ का ५१ वर्षिय टेकबहादुर विकले सडकले सुविधा भन्दा पनि प्राकृतिक स्रोतको विनाश र बाढी सास्ती दिएको बताउनुभयो । “गाउँमा खनिएका सडकको अवस्था निकै कमजोर छन् । 

साँघुरा र जोखिमयुक्त सडक हुँदा गाडी चल्दैनन्, गाउँको तल्लो क्षेत्रसम्म गाडी आए पनि माथिल्लो क्षेत्रमा बर्खामास गाडी पुग्न सक्दैनन्” उहाँले भन्नुभयो “चाहिएको बेला गाडी चढ्न पाइँदैन । सडक बनाउने नाममा कैयौँले खेतबारी र घरसमेत गुमाउनु परेको छ ।”

रघुगङ्गा गाउँपालिका–६ का डेकबहादुर शेरपुंजाले सडकले गाउँलेलाई धेरै सुविधा दिएको बताउँदै गाउँका खेतबारी, मठ मन्दिर र चौतारी पोखरीको भने नाश भएकोमा आफूलाई चिन्ता लागेको बताउनुभयो । 

“सडकका कारण बजारको सेवा सुविधा गाउँमा आए पनि सडकले विकाससँगै विनाश पनि निम्त्याएको छ । अव्यवस्थित रुपमा निर्माण भएका सडकमा हिउँदमा गाडी गुडे पनि बर्खाको समय ठप्प हुन्छ”, उहाँले भन्नुभयो, “बाढी  र पहिरोको जोखिम पनि उस्तै छ” स्थानीय शेरपुंजाले भन्नुभयो ।

आवश्यकताभन्दा बढी गाउँमा सडक खनिएपछि सडकभन्दा तलपट्टीका धेरै बस्ती बाढीपहिरोका जोखिममा परेका स्थानीय वासीको भनाइ छ । “सडक खनिनुभन्दा पहिला गाउँ निकै रमाइला र हराभरा थिए, अहिले सडकले गर्दा उराठिलो बनेका छन्” बेनी नगरपालिका–२ का नारायण शर्माले बताउनुभयो ।

म्याग्दीमा बेनी–जोमसोम– कोरला, बेनी– दरवाङ, बेनी–मालढुङ्गा र बेनी–बागलुङ सडक खण्डको स्तरोन्नतिको काम भइरहेको छ । बेनी–बगरफाँट–सुर्केमेला–बरंजा, बेनी– अर्थुङ्गे–घतानलगायत ग्रामीण सडकको स्तरोन्नति र कालोपत्रको काम पनि हुँदैछ । अधिकांश ग्रामीण सडक भने जीर्ण बन्दै गइरहेका स्थानीयको गुनासो छ ।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजकुमार थापाले अव्यवस्थित रुपमा निर्माण भएका सडकले गाउँको सुन्दरता नासिँदै गएकोले अब ग्रामीण सडक निर्माणमा निश्चित मापदण्ड पूरा गरेर मात्र काम गर्न दिइने बताउनुभयो । 

अहिले सबै पालिकालाई सडक निर्माण गर्दा इन्जिनियरिङ गरेर मात्रै निर्माण गर्न आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार