२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा उप निर्बाचन 

बारा–२, चितवन–२ र तनहुँ–१ मा सुरू : " बिहानैदेखि मतदाता लाईनमा "

मतदान केन्द्रमा बिहान साढे पाँच नबज्दै मतदाता : निर्वाचन कार्यालय

आइतवार , बैशाख १०, २०८०

 

काठमाडौँ, बैशाख । बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान सुरू भएको छ । तीनवटै निर्वाचन क्षेत्रमा मतदानका सुरू भएको जिल्ला निर्वाचन कार्यालयहरूले जनाएका छन् । 

चितवन–२ को मतदान केन्द्रमा बिहान सबेरैदेखि मतदाता लाइनमा बसेका थिए । भरतपुर महानगरपालिका–३ को चमेलीदेवी स्कुलको मतदान केन्द्रमा बिहान साढे पाँच नबज्दै मतदाता आएका थिए । 

चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार चितवन–२ मा एक लाख २४ हजार ६९५ मतदाता छन् । 

कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकासहित चितवन–२ मा भरतपुर महानगरपालिकाका २९ मध्ये सदरमुकाम र नारायणगढ बजार क्षेत्र पर्ने १० वटा वडाहरू छन् । ४३ स्थानमा १३८ मतदान केन्द्रहरू रहेका छन् ।

चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार साँझ ५ बजेसम्म मतदान केन्द्र छिरेका मतदाताले मतदान गर्न पाउने छन् । मतदान सकिए लगत्तै मतपेटिकाहरू संकलन गरेर भरतपुर ल्याइने छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले गणना सुरु भएको तेस्रो दिनभित्रै अन्तिम नतिजा घोषणा गर्ने योजना रहेको बताए ।

तनहुँ–१ मा ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र तोकिएको छ । मतदान गराउन ७६० कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ मतदाता छन् । तनहुँमा राजनीतिक दलका ९ उम्मेदवार छन् । बारा–२ मा १ लाख ५ हजार ११ मतदाताका लागि ८२ मतदानस्थलमा १३६ मतदान केन्द्र छन् । दलका ११ र स्वतन्त्र २३ जना गरी ३४ उम्मेदवार छन् ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार