२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्राकृतिक जलाशय

पानी सुक्दै जानथाले  : " कुँवा तथा पँधेरा सुके, चुनौती थपिँदै "

पछिल्ला वर्षमा पानी कम हुँदै जाँदा दैनिकी सञ्चालनमा पनि धौधौ

आइतवार , चैत्र २६, २०७९

 

गण्डकी, चैत । सयौंँ वर्षदेखि उपयोग हुँदै आएका प्राकृतिक जलाशयमा बर्सेनि पानी सुक्दै जाँदा चुनौती थपिएको छ । पछिल्ला वर्षमा खानेपानीका लागि उपयोग गरिएका प्राकृतिक जलाशय कुँवा तथा पँधेरामा पानी सुक्दै जाँदा चुनौती बढ्दै गएको हो । 

कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीका खुर्वादी तथा कटुजेका पँधेरोहरूमा बर्सेनि पानीको मात्रा कम हुँदै गएको यहाँका स्थानीयवासी बताउँछन् ।
 
भएका कुँवा तथा पँधेरा गाउँभन्दा धेरै तल हुँदा गाग्रीमा बोकेर ल्याउनुपर्ने बाध्यता लामो समयसम्म भोगेका यहाँका स्थानीयवासीलाई २०६७ सालपछि भने केही राहत भएको थियो । 

त्यसयता खुर्वादीको पँधेरोबाट लिफ्टिङ गरी गाउँमाथि हूँडिकोटमा पानी ट्याङ्की राखेर घरघरमा वितरण गर्न थालेपछि स्थानीयवासीले ठूलै राहत महसुस गरेका थिए ।
 
पावनडाँडा छबिसे सामुदायिक वनमार्फत केही सहयोग एवम् स्थानीयवासीको जनसहभागितामा यस क्षेत्रकै पहिलो लिफ्टििङ खानेपानी सञ्चालन गरिएको थियो । 

पछिल्ला वर्षमा पानी कम हुँदै जाँदा दैनिकी सञ्चालनमा पनि धौधौ पर्ने गरेको पावनडाँडा छविसे सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष कमलप्रसाद पौडेलले जानकारी दिए । 
 
विगतमा भन्दा आधा नै पानी घटेको जानकारी दिँदै उहाँले उक्त पानीलाई  १३१ घरधुरीले दैनिक रुपमा उपयोग गर्दै आएको बताए ।  

पानी घटेसँगै स्थानीयवासीले त्यसको कारणबारे खोजी गरेको र त्यस क्रममा नजिकै केही पानीको स्रोत फेला परेपछि पाइपमार्फत मूल ट्याङ्कीमा मिसाइएको उनले जानकारी दिएका छन । 

बर्सेनि पानीको समस्या बढ्दै गएका अवस्थामा कृस्ती, निर्मलपोखरी, भरतपोखरी सहलगानी खानेपानी आयोजनाको काम पनि सुस्तगतिमा हुँदा थप चिन्तित बनाएको स्थानीयवासी बताउँछन् । 

उक्त आयोजनाका लागि चार÷पाँचवर्ष अघि नै प्रतिघर १५÷१५ हजार रुपैयाँका दरले स्थानीयवासीले रकम बुझाएको भए पनि त्यसको काम सुस्तगतिमा बढेको उनीहरूको गुनासो छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार