२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

भारतीय विदेश सचिवको नेपाल भ्रमणा

राजनीतिक भेटघाटमै केन्द्रित : " नाडी मात्रै छामेनन्, तर्साए पनि ! "

बिश्लेषक भन्छन : 'अबको लाईन र राजनीतिक बाटो देखाए'

बुधवार , फाल्गुण ३, २०७९

भारतीय विदेश सचिव विनय मोहन क्वात्रा काठमाण्डू ओर्लिएको पहिलो दिन जस्तै दोस्रो दिन स्वदेश फर्किनु अघिसम्म राजनीतिक भेटघाटमा निकै व्यस्त देखिए  । पहिलो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका उनी नेपाली समकक्षी नेतृत्वको टोलीसँग द्विपक्षीय वार्तामा सहभागी भए। उनको दोस्रो दिन राजनीतिक भेटघाटमै केन्द्रित रह्यो।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूसँग पनि उनले भेटघाट गरे।

यसअघि नेपालका लागी भारतीय राजदूत रहिसकेकाले भारतीय विदेश सचिव क्वात्राले नेपालका नेता र राजनीतिक दलहरूबारे राम्रो जानकारी राख्ने ठानिन्छ। कतिपय नेतासँग उनको एक्ला एक्लै छलफल पनि भएको बताइएको छ।

राजनीतिक परिस्थितिसँग मिलेको साइत

उनको नेपाल भ्रमण आन्तरिक राजनीतिबारे अनेक अनुमान भइरहेका बेला हुन पुगेको छ। पुरानो सत्ता समीकरण फेरिएर अचानक हालको सत्ता गठबन्धन बनेको छ। उक्त नयाँ गठबन्धनको भविष्य अन्योलमा पारिदिने गरी राष्ट्रपतिको चुनाव हुन लागेको छ।

पुरानो सत्ता समीकरण नफेरियोस् भन्ने भारतीय चाहना रहेको भन्ने समाचार र विश्लेषणहरू भएका थिए।

 

प्रचण्डसँग भारतीय विदेशमन्त्री

तस्बिर  : PM SECRETARIAT

उक्त सन्दर्भ उल्लेख गर्दै नेकपा एमालेको विदेश विभाग सचिव गोपाल खनालले विश्लेषण गरे, “त्यस्तो होइन, यो सरकारसँग पनि हामी उत्ति नै प्राथमिकताका साथ काम गर्न चाहन्छौँ भनी आश्वस्त पार्ने पहिलो प्राथमिकता हुनसक्छ।”

खास गरी दुई ठूला कम्युनिस्ट पार्टी सहितको सरकार बन्दा त्यसमा उत्तरी छिमेकीको भूमिकाबारे पनि समाचारहरू आएकाले त्यसबारे बुझ्ने मनसाय पनि हुनसक्ने उनको बुझाइ छ।

माओवादी केन्द्रको विदेश मामिला विभागका उपप्रमुख राम कार्कीले भारतीय विदेश सचिव क्वात्राको भ्रमणलाई नियमित प्रक्रियाको रूपमा लिएका छन्।

उनले भने, “नेपालको रणनीतिक महत्त्व निकै बढेको देखिएका बेला भएको भारतीय विदेश सचिवको यात्रालाई नेपालका नेताहरूले पनि निकै महत्त्व दिएको देखियो र यस्तो अन्तर्राष्ट्रिय राजनीतिमा हुने गरेकै पनि छ।”

राष्ट्रपति चुनावसँग कुनै सम्बन्ध?

पुरानो सत्ता गठबन्धन भत्किएदेखि कांग्रेस नेताहरू राष्ट्रपतिको चुनावलाई लिएर नयाँ समीकरण भत्काउन प्रयास गर्ने घोषणा सार्वजनिक रूपमै गरिरहेका छन्।

माओवादी केन्द्रको राष्ट्रिय सहमतिको प्रस्तावलाई एमालेबाट राष्ट्रपति हुन नदिने प्रधानमन्त्री प्रचण्डको योजनाको रूपमा अर्थ्याउने गरिन्छ।

त्यसमा भारतीय रुचि पनि मिसिएको चर्चा भइरहँदा दक्षिणी छिमेकका विदेश सचिवको भ्रमणको सम्भावित सम्बन्धबारे चासो पाइन्छ।

देउवासँग भारतीय विदेशमन्त्री

तस्बिर : SHER BAHADUR DEUBA SECRETARIAT

तर नेता कार्की ‘दल र नेताहरूले परिपक्वता नदेखाएको र देश हिँड्ने बाटो, प्राथमिकता र रणनीति नछुट्ट्याएको हुनाले २० वर्षदेखि नेपालमा विशेष समय रहेको’ बताउँछन्।

भन्छन्, “नेपालमा जहिल्यै विशेष समय छ। अबको छ महिनापछि कोही विदेशी आयो भने पनि यस्तो बेलामा कसरी आयो भन्ने भइहाल्छ। किन भने केही न केही लफडा परिरहेको हुन्छ। त्यसैले भ्रमणलाई राजनीतिक सन्दर्भसँग जोडेर अर्थ लगाउन नहुने उनको धारणा छ।

नेता कार्की व्यङ्ग्य गर्दै भन्छन्, “भारतको लामो समयदेखिको मित्र भन्ने र असाध्यै राष्ट्रवादी भन्नेको पनि हबिगत देख्यौँ हामीले, त्यसले गर्दा त्यो अर्थ नलगाऊँ अहिले।”

सम्भावित राष्ट्रपतिसँग भेट र नेपालको विगत

भारतीय विदेश सचिवले भेटवार्ता गरेका कतिपय नेताहरू भावी राष्ट्रपतिको उम्मेदवारको रूपमा पनि चर्चामा छन्। तर एमाले विदेश विभाग सदस्य खनालले ‘विगतमा लाग्ने गरेको नेपालमा सूक्ष्म व्यवस्थापन गरेको आरोपबाट भारत अब मुक्त हुन खोजेको’ बुझाइ सुनाए।

भारतले संविधान जारी नहोस् भन्दा जारी भएको हो। त्यस्तै चीनले वामपन्थी गठबन्धन कायम रहोस् भन्ने चाहना राखेको भनिएको थियो।

माधवकुमार नेपालका साथ भारतीय विदेश सचिव

तस्बिर : MK NEPAL SECRETARIAT

तर त्यो भत्किएको सन्दर्भ उल्लेख गर्दै खनालले केही वर्षयता नेपालमा आन्तरिक निर्णय भइरहेको विश्लेषण गरे।

नेपाल आफ्नो पुरानो प्रभाव क्षेत्र रहेको र त्यो नियन्त्रण बाहिर नजाओस् भन्ने चाहना राख्नु भारतीय पक्षबाट हेर्दा स्वाभाविक रहेको बताउँदै खनाल भन्छन्, “अहिले भारत नेपालमा यसो गर्न नसक्दा सबै सकिन्छ र यसो गर्‍यो भने पुरानो प्रभाव क्षेत्र पुनर्स्थापित हुन्छ भन्ने ढङ्गले जान सक्ने स्थिति देखिन्न। उनीहरू पनि कोर्स करेक्सनको बाटोमा गएको देख्छु।”

नेपाली कांग्रेसका एक जना नेताले नाम नखुलाउने सर्तमा राष्ट्रपति निर्वाचन र सत्ता समीकरणका मुख्य खेलाडीहरूको नाडी छाम्ने प्रयासको रूपमा भारतीय विदेश सचिव क्वात्राको भ्रमणलाई आफूले हेरेको बताए।

उनले भने, “तर जसरी एक घण्टाभित्रको घटनाक्रमले अघिल्लो गठबन्धन टुट्यो, सत्ता गठबन्धनको भविष्य र त्यससँग जोडिएको राष्ट्रपतिको टुङ्गो पनि त्यसै गरी लाग्ने देख्छु।”

अमेरिकी अधिकारीहरूको लगातारको नेपाल आगमनपछि पछिल्लो घटनाक्रममा भारतीय विदेश सचिव विनय मोहन क्वात्राको काठमाण्डू भ्रमण भएको छ।

- बीबीसीबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार