हेर, कस्तो ओठ फुटेछ ।' रसिकले हेभेनको ओठमा मायालु नजर टेकाएर भने ।
'ओठ फुटेको देख्छौ । मुटु फुटेको चाहिं देख्दैनौ । ' तिमी पुरुष ! खुब सिपालु हुन्छौ । ' हेभेनले गुनासो पोखिन् ।
'हजुरको ओठ फुट्यो । अब यसमा पुरुषको सीप र कला कहाँबाट ? ' रसिकले मजाकमा नै भने ।
' तिमी पुरुष हैनौ ? मेरो ओठ फुटाउने र मुटु फुटाउने तिम्रै कला त हो ।' हेभेन थोरै मुस्कुराइन् ।
'अब मैले चाहिँ के गरें ? '
'गुलावको पत्र लुछेपछि नटुटी, नफुटी रहन सक्ला ? '
यो त प्रकृति हो । रसिकले निर्दोष हुनुको प्रमाण जुटाए ।
यो कस्तो प्रकृति ? तिमीहरु हामीलाई पीडा नदिईकन खुसी लिन नसक्ने । हामी पीडा स्वीकार नगरी खुसी हुन नसक्ने ? ' यो प्रश्न न रसिकलाई थियो न आफूलाई
'सरी ! ' रसिक गम्भीर भए ।
'तिम्रो सरी ! मलम बन्न सक्ला ? थाहा पायौ त परिणाम ? '
'थाहा पाएँ, म हजुरको बच्चाको बाबु बन्दै छु ।'
' तिमी भन्थ्यौ त, हजुरलाई बिनाकपडा देखे पनि मलाई इमोशन आउँदैन । हजुरलाई म छुँदा पनि छुन्न । '
' आगोको छेउमा घिऊको भाँडो नराख्नु भन्नुहुन्थ्यो हजुरआमा । म त्यतिबेला सानै थिएँ किन भनेर प्रश्न गर्थें ।'
'अब त सोध्दैनौ नि उहाँलाई ? हेभेनले जिस्काइन्
' हजुरलाई सोध्छु, के मलाई जिन्दगीभर यसरी नै पग्लने अधिकार दिईबक्सिन्छ ? ' रसिकले हिम्मत देखाए ।
'तिमी समाजविपरित हुँदै छौ ।' हेभेनले डर देखाइन् ।
'चारपाटा मोडेर विश्व घुमाए पनि , कालोमोसो दलेर नचाए पनि , फाँसी दिए पनि सजाय भोग्न तयार छु । हजुर मलाई बिहे गर्न हिम्मत गरिबक्सियोस् । ' रसिकले हेभेनको हात समाते ।
' हुन्छ बेहुला भएर बस ।' हेभेनले रसिकको हातलाई आफ्नो हातबाट हटाइन् ।
'अहिले बेहुला भएर बस भनेर मख्ख पारी पछि बहुला बनाउने विचार त छैन नि? ' रसिक भावुक भए ।
फेरि उही नजरको लुकामारी । उही मौनता ।
काठमाडौ ।