२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

तराईमा चिसो बढ्यो : " हुस्सु र शीतलहरसँगै जनजीवन कष्टकर बन्दै "

शुक्रवार , पौष ८, २०७९


मधेश, पुस । बाक्लो हुस्सु र शीतलहरीका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ । आज , शुक्बार, बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन् । 
मङ्सिर अन्तिम सातादेखि सर्लाहीलगायत क्षेत्रमा बाक्लो हुस्सु र शीतलहर चल्न थालेको हो । एक साता अघिसम्म बिहान बाक्लो कुहिरो लागे पनि दिउँसो पारिलो घाम लाग्न थालेको थियो तर, बिहीबारदेखि बाक्लो हुस्सु लाग्न थालेको छ ।
कठ्याङ्ग्रिदो चिसोले पराल ओछ्याएर सुत्न बाध्य मुसहर, चमार, डोम, हलखोर, पासमान लगायत दलित तथा अतिविपन्न परिवार चिसोबाट बढी प्रभावित भएका छन् । विपन्न परिवार अहिले परालको भरमा रात बिताउन थालेका छन् । 
परालको आगो ताप्ने र परालकै ओछ्यान बनाएर रात बित्ने गरेको बह्मपुरी गाउँपालिका–३ भेल्हीका उपेन्द्र रामले बताए । 
ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीकी तेतरी सदा मुसहरले जाडोका कारण दैनिकी कष्टकर बनेको बताएका छन ।  “बिहानैदेखि घर बाहिर निस्कन मुश्किल भएको छ, दैनिक गरिने कामकाजमा बाधा पुगेको छ”, उनले भने ।

चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा हालसम्म तीन जनाको ज्यान गइसकेको छ । हरिपुर नगरपालिका–६ लक्ष्मीपुर र वडा नम्बर ९ पिडारीमा उनीहरुले ज्यान गुमाएका हुन् । प्रभावितलाई चिसोबाट जोगाउन पालिका र अन्य सरोकारवाला निकायले कुनै वास्ता नगरेको सर्वसाधारणको गुनासो छ । 
अत्यधिक चिसो तथा शीतलहरका कारण स्वासप्रश्वास, रुघाखोकी, निमोनियाजस्ता समस्या देखिएको प्रादेशिक अस्पताल मलङ्गवाका प्रमुख डा नवलकिशोर झाले जानकारी दिएका छन । 
विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवती शीतलहरबाट प्रभावित छन् । अत्यधिक चिसोका कारण पशुचौपायालाई समेत समस्या भएको छ । 
चिसोले गाई, भैँसी, बाख्रालगायत घरपालुवा जनावर मर्न थालेको बताइएको छ । चिसोबाट जोगाउन पशुचौपायाका लागि  गोठमै आगो बाल्ने तथा बोरा ओढाउने गरिएको छ ।
अत्यधिक चिसोका कारण घरपालुवा जनावरमा स्वासप्रश्वास, निमोनियालगायत समस्या देखिएको पशु सेवा विज्ञ केन्द्र मलङ्गवाका प्रमुख शङ्कर साहले जानकारी दिएका छन ।   

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार