२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नयाँ सरकार निर्माण बहस

माओवादी पदाधिकारी निर्णय : 'शपथ ग्रहणपछि सरकार गठन प्रक्रियामा सहभागि हुने ' 

आइतवार , पौष ३, २०७९


काठमाडौँ, पुस । नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभाका सदस्यको शपथ ग्रहण भएपछि मात्रै सरकार गठनलगायतका प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ । 
माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडमा आज बसेको पदाधिकारीको अनौपचारिक बैठकले निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउँदा सही हुने निष्कर्ष निकालेको हो । 
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव जनार्दन शर्माले शपथ ग्रहण भएपछि मात्रै सरकार गठनको प्रक्रियामा जानुपर्छ भन्ने आफूहरुको मत रहेको बताए ।  
निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएको प्रमाणपत्र दिए पनि पद तथा गोपनीयताको शपथ भने भएको छैन । सङ्घीय संसद्को बैठक आह्वान नभईकन शपथ ग्रहण हुने अवस्था छैन । आयोगले निर्वाचन परिणाम राष्ट्रपतिलाई भने बुझाइसकेको छ । 
यस्तै, उपमहासचिव शर्माले गठबन्धन दलका बीचमा भएको छलफलका आधारमा प्रमुख पदहरुमा बाँडफाँटपछि हुने बताए ।  बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार गठन लगायतका विषयमा गठबन्धनका दलहरुबीच भइरहेको छलफलका बारेमा जानकारी गराए ।  अध्यक्ष दाहालले राज्यका सबै प्रमुख पदहरुमा सहमतिका आधारमा बाँडफाँट हुनुपर्ने आफूहरुको धारणा रहेको बताएको बुझिएको छ । 
उपमहासचिव शर्माले पनि राष्ट्रपति लगायतका प्रमुख पदमा गठबन्धन दलका बीचमा छलफल गरेर नै एउटा निष्कर्षमा पुगिने जानकारी दिएका छन ।  यसपटक माओवादीले आफ्नो नेतृत्वमा नै गठबन्धनको सरकार बनाउने दाबी गरेको उनले बताए । 
उनले भने,  “हाम्रो दाबी हाम्रो पार्टीको नेतृत्वमा नै सरकार निर्माण हुनुपर्छ भन्ने हो । त्यसो भएपछि हाम्रो पार्टीका अध्यक्ष ‘प्रचण्ड’ नै त्यसको स्वाभाविक दाबेदार हुनुहुन्छ ।” 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार