२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

दार्चुला सीमा विवाद  

नेपाल - भारत बैठक : 'महाकालीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति'

बिहिवार , मंसिर २२, २०७९


खलङ्गा, मङ्सिर । दार्चुलामा भारतले एकतर्फी तटबन्ध निर्माण गर्न थालेपछि दुवै देशका नागरिकबीच आइतबार दोहोरो झडप सिर्जना भएको थियो । बुधबार भारतको धार्चुलामा बसेको दुवै देशका प्रमुख सुरक्षा निकायको छलफलले भारतले एकतर्फी निर्माण गर्न लागेको ग्याबिन तटबन्ध तत्काल रोक्ने सहमति भएको छ ।

नेपालतर्फ मोडिएको नदीलाई पुनः आफ्नै धारमा फर्काइने सहमति भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले सञ्चारकर्मीलाई बताएका छन । उनका अनुसार विवादित क्षेत्रमा तत्काल काम पनि सुरु नगर्ने सहमति बनेको छ ।
भारतीय पक्षले एकतर्फी तटबन्ध निर्माण गरेपछि भएको विवाद समाधानका लागि नेपाल र भारतीय प्रशासनबीच आइतबार पनि जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको  थियो । छलफलमा निर्णय भए अनसार,  १० दिनभित्र नदीलाई पुरानो स्थानमै फर्काउने गरी सहमति भएको हो ।  

खलङ्गाका स्थानीयवासीको मागअनुसार नदीको बीचमा रहेका अस्थायी संरचना हटाउन भोलिदेखि १० दिनको समय दिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी राजेश शाहीले बताए । 
नेपालतर्फ सोझिएको नदीको धारबीचमा पार्ने, अत्यावश्यक बाहेकका अस्थायी निर्माण गरेका संरचना तत्काल हटाउने, यसका लागि भारतीय जनशक्ति नै परिचालन गर्ने सहमतिसमेत भएको प्रजिअ उपाध्यायले जानकारी दिए ।  
प्रजिअ उपाध्यायका अनुसार तोकिएको समय १० दिनभित्र सहमतिअनुसार काम गरे नगरेको अवस्थालाई हेरी पुनः भारतीय प्रशासनसँग छलफल अघि बढाइने छ । 
खलङ्गास्थित बाङ्गाबगर क्षेत्रको पारिपट्टि भारतले महाकाली नदी नेपालतर्फ फर्किने गरी निर्माण गरिरहेको तटबन्धको चौतर्फी चर्चा भएको छ । नेपाल सरकारले कूटनीतिक नोट पठाएपछि भारतीय अधिकारीले महाकाली नदी क्षेत्रमा भइरहेको तटबन्ध निर्माणको कामको अनुगमनसमेत गरेका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार