नेकपा एकीकृत समाजवादीका ’सम्मानित नेता’ झलनाथ खनालले इलाम क्षेत्र नं १ बाट चुनाव हारेपछि मिडियामा प्रतिक्रिया दिँदै भने – ‘कांग्रेसका आत्मघाती द्रव्य पिचासहरुले अन्तरघात गरेका कारण मैले चुनाव हारेँ ।’ एकीकृत समाजवादीका नेता खनालको पराजय कांग्रेसका मतदाताले भोट नदिएका कारण भएको हो या एमाले विभाजनको असर खासै नदेखिएका कारण हो ? भन्ने एकीन हुन बाँकी छ । तर यदी कांग्रेसकै मतदाताले भोट नदिएका कारण पराजय भएको रहेछ भने पनि खनाल जस्तो उचाइको नेता द्रव्य पिशाच , आत्माघाति भन्दै मिडियामा कुर्लुनु सुहाउँदो कुरा होइन । दुई– दुई पटक एमालेको नेतृत्व गरिसकेका नेता हुन् खनाल । मुलुकको प्रधानमन्त्री समेत भइसकेका नेताका मुखबाट यस्ता अस्लिल शब्दहरु निस्कनु राम्रो होइन ।
उनी उमेद्वार बनेको इलाम क्षेत्र नं १ को प्रत्यक्ष र समानुपातिकतर्फको मत परिणम तुलना गर्ने हो भने पनि नेपाली कांग्रेसका मतदाताका तर्फबाट कहीँ पनि चुक भएको देखिँदैन । किनकी उनले २३ हजार ८९ मत पाएका छन् । समानुपातिक तर्फ उनको पार्टी एकीकृत समाजवादीले जम्मा ८ हजार २१ मत पाएको छ भने नेपाली कांग्रेसले १६ हजार ४५० र माओवादी केन्द्रले ७५२ मत पाएको छ ।
कांग्रेसका मतदाताहरुले कतिसम्म इमान्दारिता पूर्वक एकीकृत समाजवादीका उमेद्वार खनाललाई मत दिएका रहेछन् ? भन्ने कुरा मत परिणामको अंक गणितले नै छर्लंग बनाउँछ । तर तिनै मतदाता माथि खनालले ‘द्रव्यपिशाच र आत्माघाति’ जस्ता अत्यान्त तुच्छ शब्द प्रयोग गरे ।
यो निर्वाचनमा सत्ता गठवन्धनमा सामेल पार्टीहरुको अपेक्षा गरिएभन्दा ज्यादै कम सिट आउनु र एमालेको सिट अपेक्षा गरिएभन्दा बढी आउनुको मुख्य कारक भनेको एकीकृत समाजवादी हो भन्ने कुरा घाम जस्तै छर्लङग भइ सकेको छ । तालमेलका क्रममा सिट भागवण्डा गर्दा एकीकृत समाजवादीले २० सिटमा उमेद्वारी पायो । १० सिटमा चुनाव जित्यो । एकीकृत समाजवादीले जहाँ - जहाँ उमेद्वारी पायो त्यहाँ त्यहाँ नेकपा एमालेले आरामका साथ चुनाव जित्यो । हारेका ठाउँमा पनि सानदार मत ल्यायो ।
एमालेको विभाजन नेताहरुको तहमा मात्रै भएको रहेछ । मतदाता तहमा विभाजन भएको रहेनछ भन्ने मत परिणामले नै पुष्टि गरिसकेको छ । किनकी समानुपातिकतर्फ नेकपा एमालेले २८ लाख मत पाएको छ । तर एकीकृत समाजवादीले ३ लाख मत पनि पु¥याउन सकेन । थ्रेस होल्ड नै नकटाएका कारण राष्ट्रिय पार्टी बन्ने अवशर समेत एकीकृत समाजवादीले पाएन ।
समानुपातिकतर्फ करिव १३ लाख मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतक्षतर्फ ७ सिट जितेको छ । तर समानुपातिकतर्फ ३ लाख भोट समेत नपाएको एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट हासिल गरेको छ । यदी नेपाली कांग्रेसको सहयोग हुँदैनथ्यो भने एकीकृत समाजवादीले प्रत्यक्षतर्फ डोल्पाको एक सिटबाहेक अरु कुनै पनि जित्ने रहेनछ भन्ने लगभग प्रष्ट भएको छ ।
समानुपातिकतर्फको मत हेर्ने हो भने एकीकृत समाजवादीको सबैभन्दा ठूलो कन्तविजोग भएको प्रदेश १ मा हो । जहाँ त्यो पार्टीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र हो । प्रदेश १ मा एकीकृत समाजवादीले जम्मा ५१ हजार मत पाएको छ । प्रदेश १ मै थोरै भोट आएका कारण एकीकृत समाजवादीले समानुपातिकतर्फ थ्रेस होल्ड कटाउन नसकेको देखिएको छ । आफ्नो कमजोरी स्वीकार गर्नुको सट्टा नेपाली कांग्रेसलाई गाली गर्ने खनाल प्रवृत्ति भनेको गणातन्त्र बिरोधी प्रवृत्तिभन्दा पनि अत्यन्त खतरनाक हो ।
पाँच दलीय गठवन्धनले अपेक्षित नतिजा निकाल्न नसक्नुमा झलनाथ खनाल मुख्य कारक हुन् । यो कुरा चुनाव हुनु भन्दा पहिले नै गठवन्धनका नेताहरुले थाह पाउनु पथ्र्यो । किनकी विराटनगरको सबैभन्दा ठूलो होटल कसको हो ? भनेर सोध्ने हो भने खनालकै नाम आउँछ । इटहरीमा सबैभन्दा ठूलो घर कसको छ ? भनेर प्रश्न गरियो भने पनि खनालकै नाम आउँछ । लुम्विनी अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेकेदार को हो ? भनेर प्रश्न गर्ने हो भने पनि खनालकै छोराको नाम आउँछ । सर्प पाल्ने भनेर राज्यको ढुकुटीबाट ७१ करोड रुपैंया हात पार्ने नेता को हो ? भनेर प्रश्न गर्ने हो भने पनि झलनाथ खनालकै नाम आउँछ । स्वास्थ्य उपचारका लागि राज्यको ढुकुटीबाट सबैभन्दा धेरै रकम लिने नेता को हो ? भनेर प्रश्न गर्ने हो भने पनि खनालकै नाम आउँछ । व्याक्तिगत सम्पत्ति मुल्यांकन गर्ने हो भने खनाल कुनै मारवाडी व्यापारीभन्दा कम छैनन् , तर कहिले सर्प पाल्ने , कहिले स्वास्थ्य उपचार गर्ने भन्दै राज्यको ढुकुटीबाट करोडौं रुपैंया कुम्ल्याएका छन् । खनालकै कारण लोकतन्त्र बद्नाम भएको छ । साविका पार्टीहरु प्रति जनविश्वास गुम्नुको मुख्य कारक भनेकै खनाल हुन् । प्रदेश १ मा खनालकै कारण एकीकृत समाजवादी पार्टीको त कन्त विजोग भयो भयो, खनालको दुषित बाछिटाले प्रदेश १ मा नेपाली कांग्रेस समेत दोस्रो पार्टी हुन पुगेको छ ।
कति विडम्वनाको कुरा । जनअधिकार स्थापनाका लागि यति ठूलो संघर्ष गरेका पार्टीहरुको मत गत आम निर्वाचनको तुलनामा उल्लेख्य घट्नु तर कुनै एउटा बदनाम वंशको विर्यलाई भगवान मानेर जनतालाई रैति बनाउने घोषित एजेण्डा बोकेको राप्रपाले गत आम निर्वाचनको भन्दा तेब्बर बढी भोट ल्याउनु ।
राप्रपाको घोषित एजेण्डा हो –‘ अब जनताका प्रतिनिधिले कहिल्यै पनि राष्ट्रप्रमुख छान्नु पर्दैन , सन्तान दरसन्तानका लागि राष्ट्र प्रमुखको व्यवस्था हामी आँफै गरिदिन्छौ ।’ कति कहाली लाग्दो एजेण्डा । ‘तिम्रो अहिलेको मतलाई नै हामी अन्तिम मत बनाउँछौ, अब तिमी र तिम्रा सन्तान दरसन्तानले कहिल्यै पनि मतदान गर्नु पर्दैन’ भन्ने एजेण्डा बोकेको राप्रपाले गत आम निर्वाचनभन्दा तेब्बर बढी मत ल्यायो । जनता कतिसम्म आजित भएका रहेछन् ? भन्ने कुरा यो मत परिणमले प्रष्ट पार्छ ।
चुनावअघि नै सत्ता निर्माण गरेर भोट माग्न जानु नेपाली कांग्रेसका लागि कतिसम्म आत्माघाति कदम थियो ? भन्ने कुरा एकीकृत समाजवादीका नेता खनालको प्रतिक्रिया तथा राप्रपाले प्राप्त गरेको भोटले मात्रै प्रष्ट पारेको छैन । अघिल्लो निर्वाचनमा ३१ लख भोट ल्याएको कांग्रेसले यस पटक जम्मा २६ लाख भोट ल्याएको छ । मतको हिसावले पाँच लाख घटेको छ । प्रतिशतका हिसावले ८ प्रतिशत घटेको छ । अघिल्लो पटकको निर्वाचनमा सबै कम्युनिष्ट पार्टीहरु वीच गठवन्धन भएका कारण नेपाली कांग्रेसको पराजय सुनिश्चित बनेको थियो । कांग्रेसले चुनाव हार्दैछ भन्ने जान्दा जान्दै पनि ३४ प्रतिशत मतदाताले भोट दिए । यस पटक कम्युनिष्टहरु विभाजित भएका थिए । एमाले पार्टी धेरै बद्नाम भएका कारण नेपाली कांग्रेस पहिलो पार्टी बन्ने प्रक्षेपण सबैले गरेका थिए । तर यस पटक भोट आयो जम्मा २६ प्रतिशत । यसको कारण हो कम्युनिष्टहरुसँगको गठवन्धन । माओवादीलाई बोकेको कांग्रेसलाई भोट हाल्न जनताले चाहेनन् । विकल्प खोजे ।
यो आम निर्वाचनमार्फत जनताले कांग्रेसलाई दिएको सन्देश भनेको माओवादीसँग सहकार्य नगर भन्ने हो । अझै पनि सत्ताका लागि कांग्रेसले माओवादीसँगको सहकार्यलाई निरन्तरता दिने हो भने आगामी आम निर्वाचनमा एमाले पहिलो पार्टी बन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो बन्छ । तेस्रो पार्टी बन्नका लागि राप्रपा , माओवादी र नेपाली कांग्रेसवीच प्रतिस्पर्धा हुन्छ ।
नेपाली कांग्रेसको भोट जुन अनुपातमा घटेको छ । एमाले र माओवादीको भोट जुन अनुपातमा स्थिर रहेको छ । राप्रपा र स्वतन्त्र पार्टीले जुन अनुपातमा भोट हासिल गरेका छन् , यसलाई गहिरिएर विश्लेषण गर्ने हो भने बर्तमान सत्ता गठवन्धन तथा वर्तमान प्रधानमन्त्रीलाई निरन्तरता दिनु भनेको नेपाली कांग्रेसले आफ्नो खुट्टामा आँफै बञ्चरो हान्नु हो । झलनाथ खनालले त कांग्रेसको होस् बेलैमा खुलाएका मात्रै हुन् ।