डँडेलधुरा, मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिका १ असिग्राम माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।
मौन अवधि सुरु भएपछि डडेलधुराको रातो गुराँस रिसोर्टमा मुकाम बनाएर बसेका प्रधानमन्त्री देउवाले बिहान १० बजे मतदानस्थल पुगेका थिए ।देउवासँगै उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु देउवाले पनि मतदान गरेकी छन् ।
प्रधानमन्त्री देउवा सातौँ पटक डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवार छन् । देउवाले मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै लोकतन्त्रको सुन्दर पक्ष मतदानबाट आफ्नो प्रतिनिधि चुन्नु भएकाले सबैले आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने बताए । मतदानपछि प्रधानमन्त्रीले स्थानीयहरूसँग भेटघाट गरिरहेका छन् ।