२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्बाचन

जसपा अध्यक्ष यादवले भने : "अधिकार र पहिचानको सङ्घर्षलाई सम्झेर मतदान गराैँ "

बिहिवार , मंसिर १, २०७९


काठमाडौँ,  मङ्सिर ।  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा उत्साहका साथ सहभागी हुन मतदाता समक्ष आह्वान गरेका छन ।  सप्तरी निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका यादव हाल चुनाव प्रचारका क्रममा आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय छन । 
अन्तिम चरणको घरदैलो अभियानमा रहनुभएका जसपा अध्यक्ष यादवले आज बिहान सञ्चारकर्मीसँगको  कुराकानीमा भने,  चुनावप्रति आम सप्तरीवासी र समग्र जनतामा ठूलो उत्साह छ । उनले थपे, “सङ्घीयतालाई परिस्कृत गर्दै संस्थागत गर्न, अधिकार र पहिचानको सङ्घर्षलाई मूर्तरुप दिन, संविधान संशोधन गर्न, आफ्नै मुलुकमा नागरिकताबाट वञ्चित मधेशी युवाहरुको नागरिकता समस्या समाधान गर्ने लगायतका दृष्टीले आगामी चुनाव निकै महत्वपूर्ण रहेको भनि आम मधेशीको बुझाइ छ” । 
उनले भने, “आफ्नो भाग्य र भविष्यका लागि आम मधेशी आफ्नो सङ्घर्ष अझै जारी राखेका छन् र ती सङ्घर्षका उपलब्धिलाई संरक्षित गर्दै थप उपलब्धि प्राप्त गर्न आगामी मङ्सिर ४ को निर्वाचन निकै महत्व राख्छ ।” 
लोकतान्त्रिक समाजमा आम मतदाताको सबैभन्दा ठूलो शक्ति नै मतदान हो भन्दै अध्यक्ष यादवले भने, ,  “आम नेपालीले गरेको कठोर सङ्घर्ष र त्यागको फलस्वरुप हामीले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता लगायतका उपलब्धि प्राप्त गर्न सकेका छौँ र यी उपलब्धिलाई जोगाएर राख्दै संस्थागत गर्न मताधिकारको प्रयोग सबैभन्दा आवश्यक रहेको तथ्य हामी कसैबाट लुकेको छैन ।” 
मुलुकमा प्राप्त विभिन्न राजनीतिक उपलब्धि समाप्त पार्न विभिन्न खाले षड्यन्त्रसमेत भइरहेको भन्दै यादवले आम मतदातालाई सचेत हुन आग्रह गरे ।  “चुनाव भनेको लोकतन्त्रको महापर्व हो, यसमा सहभागी भएनौँ भने हामी कस्तो लोकतन्त्रवादी ? ”, यादवले भने, , “लोकतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता  जोगाउनु छ भने मतदानमा सहभागी हुनुहोस् ।” उनले मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने समय निर्वाचन भएको भन्दै  मतदानमा उत्साहका साथ सहभागी हुनुपर्ने बताए ।  
आगामी चुनावबाट जसपा मधेशको मुख्य पार्टी मात्रै नभइ राष्ट्रिय राजनीतिकै मुख्य शक्तिमध्ये एक यादवको दाबी छ ।  मधेशको नाममा नानाथरिका षड्यन्त्र गर्ने दललाई थ्रेसहोल्ड जोगाउन पनि गाह्रो हुने बताउँदै यादवले भने, “जसपालाई आम मतदाताले उसको नीति सिद्धान्त तथा विगतका दिनमा गरेका कामको आधारमा रुचाएको छन्, हामी झुठो आश्वासन बाँड्ने काम गरेका छैनौँ ।” 
राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश कृषि विश्वविद्यालय, नर्सिङ कलेज भवन निर्माण, इञ्जिनीयरिङ कलेज भवन निर्माण लगायतका काम सप्तरीको पुरानो पहिचानलाई पुनःस्थापित गर्न गरिएका प्रयास भएको उनको भनाइ छ । 
“जनप्रतिनिधिले गरेका कामको मूल्याङ्कन गर्नुस्, उसले अतितमा गरेका सङ्घर्षलाई सम्झिदिनुस्, मधेशको पहिचान र स्वाभाविनाको सङ्घर्षमा क–कसले के कस्ता योगदान दिए स्मरण गरिदिनुस् र लोकतन्त्रको महापर्वमा उत्साहका साथ मतदानमा सहभागी भइदिनुस् आम मतदातामा मेरो विनम्र अनुरोध छ”, उनले मतदातासँग आग्रह गर्दै भने । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार