२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

काठमाडौं १० : निर्बाचन

प्रचण्डलाई हराएका राजन केसी : " के छ अवस्था ? सहजै ह्याट्रिकको  दाउमा "

मंगलवार , कार्तिक २९, २०७९


काठमाडौँ, कात्तिक । काठमाडौंको क्षेत्र नम्बर १० बाट तत्कालीन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पराजित गरेर चर्चामा आएका कांग्रेसका राजन केसी अहिले ह्याट्रिक गर्ने दाउमा छन् । 
२०७४ मा वाम गठबन्धन हुँदासमेत जित हात पारेका केसीलाई अहिले जित निकाल्न कति सहज छ भन्ने सेरोफेरोमा यो समाचार केन्द्रित छ । केसी अहिले बलियो प्रतिस्पर्धी बिनै मैदानमा  छन् । यो क्षेत्र कांग्रेसको बलियो पकड रहेको क्षेत्र हो । 
यस क्षेत्रमा कांग्रेसको अबस्था बुझ्न विगतका निर्वाचन र ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणामलाई हेर्दा स्पष्ट हुन्छ । केसीले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा प्रचण्डलाई पराजित गरेका थिए । 
त्यस्तै २०७४ को निर्वाचनमा समेत एमाले– माओवादी  वाम गठबन्धनबाट माओवादी केन्द्रका हितमान शाक्यलाई पराजित गरेका थिए ।  स्थानीय निर्वाचनको मत परिणामलाई हेर्दा यस क्षेत्र अन्र्तगत पर्ने २९ वडा मध्ये २२ वडामा कांग्रेसले  जित हासिल गरेको छ । यस क्षेत्र अन्र्तगत पर्ने तीनवटै नगरपालिकामा कांग्रेसकै प्रमुखले जित हासिल गरेका छन् । 
केसी  आफूले सुरु गरेका काम पूरा गर्न  फेरी मैदानमा आएको बताँउछन् । उनले यसपटक काठमाडौं मकवानपुर जाने बाटो निर्माण सम्पन्न गर्ने, सम्पदाको संरक्षण, स्थानीय पर्यटकीय क्षेत्रमा थप पूर्वाधार निर्माण गरेर स्थानीय क्षेत्रमा रोजगारी  सिर्जना गर्ने आफ्नो एजेन्डाको रुपमा अगाडि सारेका छन् ।  
उनी यसपटक पनि निर्वाचित हुनेमा निर्धक्क छन् । ‘यस क्षेत्रबाट दुईपटकसम्म सांसद भएँ । पूर्वाधार क्षेत्रमा धेरै काम गरेको छु । केही पूर्वाधारका योजना बाँकी रहेका छन् । त्यसलाई सम्पन्न गर्नका लागि मेरो उम्मेदवारी हो,’ केसी भन्छन् । 
क्षेत्र नम्बर १० मा केसीसहित १८ उम्मेदवार मैदानमा छन् । २०७४ को मत परिणामलाई हेर्दा कांग्रेसका केसीले २४१९० मत ल्याएर विजयी भएका थिए भने तत्कालीन समयमा एमाले– माओवादी गठबन्धनबाट माओवादी केन्द्रका हितमान शाक्य २१९०७ मत ल्याएर पराजित भएका थिए।

स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा पर्ने कीर्तिपुर नगरपालिकामा कांग्रेसका राजकुमार नकर्मी विजयी भएका थिए । किर्तिपुरका १० वडामध्ये नौ वडामा कांग्रेसले र एक वडामा स्वतन्त्र उम्मदेवारले जित हासिल गरेका थिए । 
त्यस्तै दक्षिणकाली नगरपालिकामा एमालेका श्रीराम आचार्यलाई हराएर कांग्रेसका मोहन बस्नेत निर्वाचित भएका थिए । यस पालिकामा  नौ वडामध्ये ६ वडामा कांग्रेसले जितेको थियो ।
चन्द्रागिरि नगरपालिकाको मेयरमा कांग्रेसका घनश्याम गिरी निर्वाचित भएका थिए भने १० वडामध्ये सात वडामा कांग्रेसले जितेको थियो । यस क्षेत्रमा ७६९०६ मतदाता रहेका  छन्। विगतका परिणाम समेतले किर्तिपुर स्पष्ट रुपमा कांग्रेसका लागि सहज जित हुने अनुमान छ । 
एमालेबाट उम्मेदवार बनेका हिमेस केसी विगतका नेतृत्वको विकल्प आफू भएको बताउने गरेका छन् । तर, यस क्षेत्रबाट माओवादी केन्द्रकी उम्मेदवार रहेकी अन्जना बिशखें एमालेलाई प्रतिस्पर्धीको रुपमा नै मान्दिनन् । 
उनले पनि आफ्नो प्रतिस्पर्धा कांग्रेससँग मात्र भएको दावी गर्दै गर्छिन् । तर, उनको दाबीलाई विगतको निर्वाचनले माओवादीको न्युन प्रभाव रहेको क्षेत्रको रुपमा रहेको पुष्टि गर्छ । ‘यो क्षेत्रको चुनावमा प्रतिस्पर्धीको रुपमा राजन केसी र म छौं । 
एमालेले एक जनालाई उठाएको छ । तर,उहाँ सामाजिक ढंगले प्रचारित मानिस, सामाजिक व्यक्तित्व वा बौद्धिक व्यक्तित्व त्यस्तो केही होइन । उम्मेदवारकै कुरा गर्दा एमालेले आफ्नो उम्मेदवार यो हो भनेर राम्रोसँग प्रचार गरेर समेत हिँड्न सकेको छैन,’ उनको भनाइ छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार