२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नवदुर्गा पक्षको नवौँ दिन  आज

शक्तिपीठमा लाखौँ भक्तजन  : 'शक्तिपीठ र देवी मन्दिर वरिपरि सडकमा सवारी साधनको चाप'

मंगलवार , आश्विन १८, २०७९


काठमाडौँ, असोज । नवरात्र अर्थात् बडादसैँको नवौँ दिन देशभरका देवी मन्दिरमा झरीका वास्ता नगरी भक्तजनको बिहानैदेखि भीड लागेको छ । दुर्गा पक्षसमेत भनिने यस अवसरमा नवरात्रको अन्तिम दिन परेकाले पनि आज बिहानैदेखि झरीको परवाह नगरी देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको हो । 

नवरात्रको अन्तिम दिन आज बिहानैदेखि राजधानीलगायत देशभर वर्षा भइरहेको छ  । शक्तिपीठ र देवी मन्दिर वरिपरिका सडकमा सवारी साधनको पनि चाप देखिन्छ ।

ती स्थानमा पार्किङ गरिएका सवारी साधनको पनि लाम भेटिन्छ । अन्यत्र भने सडक खुला छ । महानवमीको दिन भएकाले आज धेरैैले सवारी साधनमा पूजा आराधना गरी घरमै थन्क्याएका कारण पनि सडक सुनसान छ । 

अघिपछि सडक जाममा पर्ने यात्रु अहिले भने खुला वातावरणमा यात्रा गर्न पाउने अवस्था छ । सवारी साधन कम भएपछि राजधानीको वातावरणमा धुवाँ धुलोको मात्रा कम छ । 
राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, कङ्केश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बज्रबाराही, बगलामुखीलगायत मन्दिरमा भक्तजनको भीड छ । 
आज पनि महाअष्टमीमा जस्तै बलिसहित पुजा आराधना गर्ने भक्तजनको घुइँचो लागेको छ । राजधानीका प्रत्येक शक्तिपीठमा आज हजारौँ सङ्ख्यामा भक्तजन लामवद्ध छन् । 

वर्षमा एकदिन मात्र खुल्ने हनुमानढोका दरबारको तलेजु भवानी मन्दिरमा पनि बिहानैदेखि हजारौँ भक्तजन लाममा बसेका छन् । घटस्थापनाका दिन राखेकोे जमरा आज शक्तिपीठमा लगी चढाउने चलन छ । 
यसैगरी वर्षमा एक दिनमात्र खुल्ने गोकर्ण राजनिकुञ्जभित्रको वनदेवी मन्दिरमा पनि बिहानैदेखि हजारौैँ भक्तजन लाममा बसेका छन् । नेपाल ट्रष्टको कार्र्यालय अन्तर्गतको गोकर्ण वनमा रहेको यो वनदेवी मन्दिर प्रत्येक शारदीय नवरात्रको महाअष्टमी र महानवमीका दिन मात्र खुल्ने गर्छ ।

यसैगरी उपत्यका बाहिरका देवी मन्दिरमा पनि भक्तजनको घुइँचो छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक भगवती, पाल्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बाग्लुङ कालिका, शैलेश्वरी, उग्रतारा, बडीमालिकालगायत मन्दिरमा भक्तजनको भीड लागेको बताइएको छ । 

नवरात्रसमेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । विगत दुई वर्ष कोरोना महामारीका कारण शक्तिपीठ बन्द गरी घर घरमै दुर्गा देवीको पूजा आराधना गर्न आह्वान गरिएको थियो । यस वर्ष भने कोरोनाको जोखिम कम भएपनि डेङ्गुको त्रास बढेको छ ।
यसवर्ष डेङ्गुबाट सुरक्षित भएर दशैँ मनाउन प्रशासनले आह्वान गरेको छ । वर्र्षा  निरन्तर भइरहकाले पनि यस्ता रोगबाट बचेर पर्व मनाउन आह्वान गरिएकोे छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार