कैलाली, असोज । यही असोज १ गतेको बाढी र डुबानका कारण कैलालीको भजनीका अधिकांश नागरिक विस्थापित हुनुप¥यो । केही पूर्णरुपमा विस्थापित भए भने केही आंशिक रुपमा । पूर्ण रुपमा विस्थापित भएका यतिबेला भत्केको घर निर्माणमा जुटेका छन् भने आंशिक रुपमा विस्थापित भएका राहतको लागि नगरपालिका धाउनमै व्यस्त छन् ।
चाडपर्व आएसँगै भजनीका अधिकांशको घरमा यतिबेला अन्न छैन । बाढीले क्षति पु¥याएका स्थानमा कयौँको घरमा भएको अन्नपात बाढीमै बग्यो भने कयौँको बाढीले भिजेर पूर्ण रुपमा नष्ट भयो । भजनी नगरपालिका–५ लालभोजीमा तुलाराम चौधरी मङ्गलबार नगरपालिका पुग्नुभएको थियो ।
बाढीका कारण विस्थापित भएका उनी राहतका लागि नगरपालिका पुग्नुभएको हो । घरमा भएको सबै अन्नपात बाढीले बगाएपछि खानको लागि घरमा केही नहुँदा त्यसैको जोहोका लागि नगरपालिका पुग्नुभएका उहाँ चाडपर्वको समयमा भएको विपत्तिले निकै अप्ठ्यारोमा पारेको सुनाए ।
“छ जनाको परिवार छ । घरमा खानको लागि केही छैन ।“ उनले भने, “ के खाने, के लगाउने निकै समस्या छ । परिवार पाल्नुछ । खेती पाक्न अझै महिना लाग्छ ।”
सोही ठाउँका रामबहादुर चौधरी पनि बाढीका कारण विस्थापित भएका छन । घरको अन्नपात बग्यो । खेतमा लगाएको धानबाली नष्ट भयो । शरीरमा लगाएको एक जोर लुगा भन्दा केही पनि बचाउन नसकेका रामबहादुरलाई पनि खानको निकै समस्या भएको छ ।
नगरपालिकाले दिएको राहतले एक दुई छाक टार्न भ्याए पनि अरु दिनको जोहो कसरी गर्ने भन्ने चिन्तामा छन । “घरमा खानलाई केही छैन । लगाउनलाई नत लुगा ।“ उनले भने, “चाडपर्व आए, आफूहरु त जसोतसो चुप बसौँला, तर बालबालिकालाई कसरी मनाउने भन्ने पिर छ ।”
उहाँ गाउँघरमा अरुको देखासेखी बढी चल्ने गरेको बताउँदै अर्कोले खाएको र लगाएको बालबालिकालाई जसरी पनि पु¥याउनुपर्ने बाध्यता जस्तै बन्ने गरेको बताउँछन । “हामी पिडित छौँ । चाडपर्वमा रमाइलो नगर भन्न मिलेन। आफूसँग अरुले गरेजस्तो गर्न स्रोत छैन ।“
उनले भने, “नगरपालिकाले २५ केजी चामल उपलब्ध गराएको छ । त्यसै चामलले हामीले दसैँ मनाउनु छ । के बालबालिकाको इच्छा पूरा होला, चाडवाडमा के हाम्रो पेट भरिएला ?”
भजनी –३ का राजेन्द्र विक अझै घर फर्केका छैनन् । परिवारका अन्य सदस्य घर फर्किएको भए पनि आफू अझै हुलाकी सडकको त्रिपालमै बस्दै आएको बताउँछन “घर लिपपोत हुँदैछ । गाई बस्तुको गोठ भत्केका कारण अन्त बाँध्ने ठाउँ नभएपछि तीनको रेखदेखको लागि हुलाकी सडकमै छु ।”
उनले भने, “गोठ बनेपछि घर गाई बस्तु लिएर जानुपर्ला ।” उहाँ घर पुगेर अस्तव्यस्त घरको अवस्था, हिलाम्मे आँगन, भत्केका घरका भित्ताले मन थाम्न मुस्किल हुने गरेको बताए ।
वडा नं ८ का रति ढकाल अझै घर फर्किनुभएको छैन । उहाँ हुलाकी सडकको किनारमा त्रिपालमै बस्दै आउनुभएको छ ।
उनका लागि यो पटकको दसैँले छुन सकेको छैन । दिउँसो घर पुगेर घर मर्मतको काम गरे पनि बस्नको लागि त्रिपालमै आउनुपर्ने बाध्यता रतिलाई छ । “घर छैन । जमरा राख्ने ठाउँ छैन । खानको लागि घरमा अन्न छैन । हामीलाई केको दसैँ ।”
उनी भन्छन, “ज्यान बाँचेको छ । कतैबाट खाद्यान्न सहयोग भयो भने त्यसैबाट गुजारा गरेर ज्यान जोगाउने बाटो खोज्दै छौँ । यो वर्षको दसैँ त त्यस्तै भयो हाम्रा लागि ।”
भजनीका बाढी प्रभावितलाई सबैभन्दा ठूलो समस्या नै खाद्यान्नको भएको छ । घरको सबै अन्नपात केही बगेर त केही भिजेर नष्ट हुँदा यतिबेला ती पीडित परिवारलाई के खाने भन्ने चिन्ताले सताएको छ । खेतमा लगायतको धानबाली पनि कयौँ किसानको नष्ट भएको छ । बाँकी रहेको धान भित्राउन पनि अझै महिना दिन लाग्ने स्थिति छ ।
यसमा नगरपालिका पनि निकै चिन्तित छ । बाढीका कारण विस्थापित भएका करिब सात हजार परिवारलाई नगरपालिकाले आवश्यक खाद्यान्न उपलब्ध गराउन सक्ने स्थिति पनि छैन । “हाम्रो चिन्ता पनि नागरिकलाई भोको हुन नदिन के गर्न सकिन्छ भन्ने नै हो ।”
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीले भने, “घरमा भएको अन्न खाली भइसकेको छ । बाहिरको भित्राउन अझै एक महिना लाग्छ ।
अब एक महिनासम्म पुग्ने राहत नगरपालिकाको स्रोतले भ्याउन सक्दैन ।” उहाँ बाढीका कारण तीन हजार घर पूर्ण र चार हजार घरमा पानी पसेको अनुमानित तथ्याङ्क रहेको बताउँदै अझै वास्तविक तथ्याङ्क आउन समय लाग्ने बताउँछन ।
“हामीसँग वास्तविक तथ्याङ्क आइसकेको छैन । वास्तविक तथ्याङ्क आएपछि कति क्षति भएको रहेछ थाहा हुने छ ।” उनले भने, “पानी पसेका घरमा पनि खाद्यान्न बचेको छैन । बचेको खाद्यान्न पनि काम नलाग्ने भएको हामीले देखेर आएका छौँ ।”
नगर प्रमुख केवल चौधरीले विस्थापित नागरिकका लागि आवश्यक राहत सहयोगका लागि आह्वान गरिएको जनाउँदै राहत सामग्री नगरपालिकालाई उपलब्ध भए पनि विस्थापित धेरै भएका कारण पु¥याउन नसकिएको बताउँछन ।
उहाँ बाढी आएको दिनदेखि आफूहरुले शान्तिको श्वास फेर्न नपाएको जनाउँदै बाढीबाट विस्थापित परिवारको अवस्था हेर्दा निकै पीडादायी रहेको र त्यो पीडालाई आफूहरुले समाधान गर्न प्रयास गरे पनि सफल हुन नसकेको बताउँछन ।
“हामीसँग सीमित स्रोतसाधन छ । त्यो स्रोतसाधनले सबै प्रभावितको समस्या समाधान गर्न निकै कठिन छ ।”
नगर प्रमुख चौधरीले भने, “अहिले विस्थापित नगरपालिका आएर दसैँ मनाउने आधार बनाइदिनुपर्यो भन्दै आग्रह गर्नुहुन्छ । हामी एक्लैले यस्तो विपत्तिको सामना गरेर नागरिकको आवश्यकता पूरा गर्न सक्छौंँ ? ”