काठमाडौँ, असोज । अभिनेता हरिवंश आचार्यले कोरोना भाइरसको महामारीपश्चात् नेपाली फिल्म बजारमा बढी नै उतार चढाव देखिएको बताएका छन ।
उनी अभिनित फिल्म ‘महापुरुष’ को दोस्रो गीत ‘बेमौसमी’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अभिनेता आचार्यले केही फिल्म रेकर्ड बनाउने गरी सफल भएका र केहीले भने अपेक्षा भन्दा निकै कम व्यापार गरेको बताए ।
अहिले आर्ट र कमर्सियल भ्यालु बोकेका फिल्म बजारमा दर्शकले पर्खिरहेको विचार राख्दै त्यो ‘महापुरुष’ रहेको बताए । “अहिले दर्शकले आर्ट र कमर्सियल दुवै भएको फिल्म हेर्न खोजेका छन । महापुरुषमा यी दुवैको मिश्रण छ । यहाँ कमर्सियल भ्यालु राखेर आर्टमा अब्बल फिल्म बनाइएको छ”, उनले भने । नेपाली फिल्मको बढ्दो बजारलाई यसले अझै फाइदा पु¥याउने उनले बताए ।
केही समययता आर्ट भ्यालु बढी भएका फिल्ममा दर्शकको उपस्थिति कम देखिएको उनले बताए । अभिनेता आचार्यले पूर्णरुपमा व्यावसायिक कलात्मक फिल्म ‘महापुरुष’ रहेको बताए । “यसपटक स्क्रिप्ट झनै मेहनत गरेको पाएँ । यो टिमले निर्माण गरेको अघिल्लो फिल्मको तुलनामा यो उत्कृष्ट छ”, उनले भने ।
जात्रा, ‘सत्रुगत’ र ‘जात्रै जात्रा’को सफलताले आफूलगायत टिममा दायित्व थपिएको निर्देशक प्रदीप भट्टराईले बताए । “हामीलाई दर्शकले गर्नुहुने विश्वासले थप जिम्मेवार बनाएको छ । यसपटक हामीले समाजको गम्भीर विषयलाई सरल तरिकाले देखाउने कोसिस गरेका छौँ । समाजमा विध्यमान सोचलाई भत्काउने प्रयास हाम्रो हो”, उनले भने ।