ढल्केवर, भदौ । धनुषाका दुई नगरपालिकले मातहतका विद्यालयलाई पढाइ सञ्चालन गर्न अनुमति दिएका छन् ।जिल्लाका मिथिला नगरपालिका र शहीद नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना र आलोपालो गरेर भौतिक उपस्थितिमा पढाइ सुरु गर्न अनुमति दिएका हुन् । लामो समयदेखि बालबालिकाको पढाइ अवरुद्ध रहेको र अरू विधिबाट पढाइ सम्भव नभएपछि भौतिक उपस्थितिमै पढाउन सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी अनुमति दिइएको मिथिला नगरपालिकाकी शिक्षा शाखा प्रमुख सीताकुमारी काफ्लेले सञ्चरकर्मीलाई जानकारी दिएकी छन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी कोभिड१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा;२०७७ बमोजिम र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी मापदण्डको पूर्ण पालना हुने गरी विद्यालय व्यवस्थापन समिति, कर्मचारी, जनप्रतिनिधिलगायत सरोकारवाला निकायसँग समन्वय गरेको उनले बताए ।यस्तै शहीदनगर नगरपालिकाले जिल्लामा कोभिड१९ जोखिम भए पनि यस पालिकामा जोखिम न्यून रहेकाले शिक्षण सिकाइको अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य सावधानी अपनाउँदै प्रत्यक्ष उपस्थितिमा सोमबारबाट विद्यालय सञ्चालन गर्न विद्यालयलाई अनुरोध गरेको नगरप्रमुख उदयकुमार बरबरियाले जानकारी दिए ।