काठमाडौँ, पुस । हरेक हिउँदमा पश्चिमी वायु प्रणाली सक्रियताका कारण नेपालमा निकै जाडो महशुस हुन्छ। हिउँदे झरी र सिरेटोले जनजीवन कष्टकर बन्छ। यतिखेर पनि नेपालमा हिउँदे ठिहिरोले सताइरहेको छ।
देशका उच्च पहाडी भेगमा हिमपात तथा तराई भेगमा शीतलहर चलिरहेको छ। चिसो बढेपछि मानिसको दैनिकी पनि कष्टकर हुँदै गएको छ। चिसोले स्वास्थ्यमा समेत गम्भीर खालका समस्या निम्त्याउने हुनाले मानिसहरुले न्यानो हुन विभिन्न उपायहरू अपनाउँछन्।
विशेषगरी शहरी भेगमा चिसोबाट बच्न हिटरको प्रयोग हुन्छ भने ग्रामिण भेगमा आगो बालेर ताप्ने गरिन्छ। जाडोका बेला न्यानो हुन आगो बाल्दा सावधानी अपनाइएन भने पोल्ने वा शरीर नै जल्नेसम्मका घटना हुनेगर्छ।
त्यसैले आगो ताप्दा हामीले निकै सावधानी अपनाउनुपर्छ। आगो ताप्न बस्दा न्यानो रहन बाक्ला लुगा लगाउने र ओढ्ने गर्नुपर्छ। आगोको धेरै नजिक बस्नु हुँदैन।
आगो ताप्ने क्रममा खुकुलो लुगा नलगाउनु राम्रो हुन्छ भने स-साना बालबालिकालाई आगो वरपर राख्नु हुँदैन। फोहोर, कागज र प्लास्टिकजन्य सामग्री बालेर आगो ताप्नु हुँदैन।
यी वस्तु पोल्दा वा डढाउँदा प्रदूषण हुने मात्र नभई पोल्न पनि सक्छ। बच्चा र वृद्धलाई त आगोबाट बचाउन त विशेष ध्यान नै दिनुपर्छ। यी उमेरसमूहका मानिसलाई आगो, तातोपानी र अन्य तातो पदार्थको प्रत्यक्ष सम्पर्कबाट टाढै राख्नुपर्छ।
कपाल र कपडा सपक्क बाँधिदिनुपर्छ। छिट्टै आगो टिप्ने पोलिष्टर तथा टेरिकटनका कपडा लगाइदिनु हुँदैन।
आगोले पोलिहाले के गर्ने?
आगोले पोलिहाले आत्तिएर दौडनु हुँदैन। जीउमा आगो सल्किहाले भुईँमा लडिबुडि गरेर निभाउनुपर्छ। यसरी पनि आगो ननिभे बाक्लो कम्बल वा सिरकले छोपेर निभाउन सकिन्छ।
आगो निभेपछि लुगा, घडी र गहनाहरू फुकाल्नुपर्छ। त्यसपछि आगोले जलेर भएको घाउलाई धाराको सफा पानीले पखाल्नुपर्छ। घाउलाई सफा कपडाले छोपेर नजिकको अस्पतालमा जानु राम्रो हुन्छ।
अस्पताल टाढा भएमा बाटोमा प्रशस्त नुन, चिनी, पानी वा जीवनजल खानुपर्छ।