२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

विपद् र उद्धार: "जनधनको क्षति "

आइतवार , आषाढ ६, २०७८

 

नसुन शुरु भएसँगै असारको पहिलो दिन मङ्गलबारदेखिको वर्षाका कारण आएको बाढी, पहिरोबाट सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्यूठान, कास्की, पर्वत, म्याग्दी, डोटी बढी प्रभावित भए । तीमध्ये सिन्धुपाल्चोक, मनाङ र लमजुङका सार्वजनिक संरचना, व्यक्तिगत आवास तथा प्राकृतिक सम्पदामा व्यापक क्षति पुगेको छ । 

वर्षाभर जनधनको क्षति बढ्न सक्नेछ । अहिल्यै बाढी पहिरोले विभिन्न जिल्लामा ८९ घर पूर्ण र २६ घर आंशिक क्षतिग्रस्त भएका छन् । नेपालमा १० जुनदेखि २३ सेप्टेम्बरसम्मको मनसुनी अवधि बाढी पहिरोको दृष्टिले चुनौतीपूर्ण मानिन्छ । नेपाल प्रवेश गरेको करिब दश दिनपछि मात्र सक्रिय हुने मनसुनले यो वर्ष केही चाँडै बाढी पहिरोका अप्रत्याशित दुस्परिणाम निम्त्याएको छ । मौसमविद्व्ले पूर्वानुमान गर्दै यस वर्ष धेरै वर्षा र क्षति हुनसक्ने बताएका थिए ।
अप्रत्याशित विपद्पछि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले पीडितको उद्धार तथा पुनस्र्थापनाका लागि सम्बद्ध पक्षलाई निर्देशन दिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकले पनि बाढी पहिरोबाट बेपत्ताको खोजी, उद्धार र राहतमा सबै संयन्त्रलाई परिचालन हुन आग्रह गरेको छ ।

यसअघि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा सिन्धुपाल्चोकमा ४६ र दाङमा चार जनाको सकुशल उद्धार गरिएको छ । सिन्धुपाल्चोकको बाढीले घरमा फसेका छ जनाको नेपाली सेनाद्वारा हेलिकप्टरमार्फत उद्धार गरी उपचार हुँदैछ । विभिन्न जिल्लामा उद्धार कार्यलाई तीव्रता दिइएको छ । प्राकृतिक प्रकोप मानव नियन्त्रणमा हुँदैन तर प्रकोप न्यूनीकरण गर्दै यसका दुष्परिणाम घटाउन सकिन्छ । घटाउँदै आएका पनि छन् । विपद् आउन नदिनु पहिलो वुद्धिमत्ता हो तापनि घटना भइसकेपछि उद्धार, राहत, पुनस्र्थापना र जीविकोपार्जनमा ध्यान जानु स्वाभाविक र अपेक्षित हुन्छ ।
कतिपय बाढी, पहिरो, डुबानमा मानवीय गतिविधि निर्णायक कारण भएका छन् । अवैज्ञानिक सडक, असीमित नदी दोहन, निर्मम पहाड उत्खनन्जस्ता कारण पछिल्ला वर्ष अस्वाभाविक विपद् देखिएका छन् । अपत्यारिला ठाउँ पनि डुबानमा परेका छन् । तराई–मधेसका सुरक्षित मानिएका कतिपय सहर बस्ती सीमा क्षेत्रमा भारतले बनाएका उच्च सडकले डुबानमा पर्ने गरेका छन् । जमिनमुनिको पानीको सतह घटेर हिउँदमा तराई मधेस क्षेत्रमा खानेपानीको हाहाकार र आगलागीजस्ता समस्या दोहरिन थालेका छन् ।

खरका छाना विस्थापित गर्न सङ्घीय तथा प्रदेश सरकारले अभियान नै थालेपछि आगलागीका घटना घट्ने विश्वास गरिएको छ । कतिपय विपद् मानवीय कारणले निम्तिएकाले मानव र उसको समुदायको सत्प्रयासले मात्र यस्ता विपद् न्यूनीकरण गर्न सकिनेछ । खासगरी पहाडमा बनाइने भौतिक संरचना, नदी, खोला तथा पानीका स्रोतको निर्वाध निकास, मौसम पूर्वानूमानअनुसारका होसियारीबाट यस्ता विपद्का दुष्परिणाम कम गर्न सकिनेछ ।
सरकारले विपद्पछि उद्धार र राहतमा पहल गर्दै आएको छ तर विपद् नै नआउने गरी विकास निर्माणका कार्य सञ्चालनमा पहिलो ध्यान जानुपर्ने हुन्छ । विपद्जस्तो अप्रत्याशित घटनाको रोकथामदेखि घटनापछिको उद्धार, राहत, पुनस्र्थापनामा सरकार मात्र नभएर नागरिकहरू पनि उत्तिकै सचेत हुनुपर्नेछ ।

अव्यवस्थित बसोवास, अवैज्ञानिक सहरीकरण, प्राकृतिक स्रोतको अधिक दोहनले यस्ता चुनौती आउने भएकाले अबका योजना तथा विकासलाई वातावरण अनुकूल बनाउनु पर्ने आवश्यकता थप टड्कारो बनेको छ । कतिपय स्थानमा नदी किनारामै घर बनाएर बस्नेजस्ता प्रवृत्तिले पनि नदी निकासमा व्यवधान भई डुबान हुने गरेको छ ।

काठमाडौँ उपत्यकाका बागमती र विष्णुमती, मनोहरा तथा यिनका सहायक नदी, खोलाको बही साँगुरो पारेर अनधिकृत बस्ती बसाउने, अतिक्रमण गरी जलप्रवाह नियन्त्रित गरिएकाले विगत केही वर्षदेखि कतिपय स्थानमा डुबानका अनपेक्षित समस्या आएका छन् । यस्ता समस्या निराकण गर्न विपद्पछिको सक्रियताभन्दा विपद्पूर्वका योजना, तयारी तथा सक्रियता आवश्यक हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार