२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोरोना त्रास : ‘खुलेका विद्यालय पुनः बन्द’

शुक्रवार , श्रावण ३०, २०७७


सिमकोट, साउन । कोरोना संक्रमणको त्रास कम भएको भन्दै केही समय अगाडि सञ्चालनमा आएका हुम्लाका विद्यालय पुनः वन्द गरिएका छन् । सरकारले कोरोना संक्रमणको त्रास बढेको भन्दै पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेसंगै हुम्लाको शिक्षा क्षेत्रसँग सरोकार राख्ने निकायको बैठकले पनि खुलेका विद्यालय वन्द गर्ने निर्णय गरेका हुन् । 
बालमन्दिर माविका प्रधानाध्यापक कैलाश रोकायाले सिमकोट गाउँपालिकाको निर्देशनमा एकहप्ता अगाडि सञ्चालनमा आएको विद्यालय पुनः बन्द गरिएको सञ्चारकर्मीलाई जानकारी दिए । देशभर कोरोना त्रास बढ्न थालेपछि विद्यालय बन्द गर्ने निष्कर्षमा गाउँपालिका पुगेको हो । 
उनले बिहान र दिउँसो गरी दुई सिफ्टमा पठनपाठन गरिँदै आएका कोरोना संक्रमण बढदै जानथालेपछि विद्यालय पुनः बन्द गरिएको जानकारी दिए । 
सिमकोट गाउँपालिकाका सबै विद्यालय साउन २२ वाट पठनपाठन सुरु भएको थियो । सिमकोट गाउँपालिकाले एक सूचना प्रकाशन गरी २३ वटा सरकारी र पाँचवटा निजी विद्यालय अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्न निर्देशन दिएको छ । 
यस्तै, ताँजाकोट गाउँपालिका शिक्षा शाखाका प्रमुख जयरुद्र ढकालले विद्यालयमा कोरोना संक्रमण बिरुद्धका सुरक्षा अपनाउन कठिन भएको र सामाजिक दुरी पनि कायम गर्न नसकिने अबस्था आएपछि गाउँपालिकाका विद्यालय पुनः बन्द गरिएको बताए । ताँजाकोट गाउँपालिकामा साउन १५ देखि पढाई सुरु भएको थियो । 
यता खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले आफ्नो गाउँपालिकाभित्रका १६ वटै विद्यालयमा पठनपाठन बन्द भएको बताए । हुम्लामा सबैभन्दा पहिले साउन ५ देखि उक्त गाउँपालिकाभित्रका विद्यालयमा पढाई सुरु भएको थियो । 
शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख बिष्णुबहादुर शाहीले देशभर कोरोना संक्रमण बढ्न थालेपछि सरकारले सबै विद्यालयमा पठन पाठन अगाडि नबढाउने निर्णय गरेसंगै हुम्लामा पनि विद्यालय बन्द गरेको जानकारी दिए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार