काठमाडौं, मंसिर ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ पहिलोपटक एकसाथ सार्वजनिक मञ्चमा देखिएका छन् ।
एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा चीनको सेन्जेनमा बुधबार राति आयोजित स्वागत रात्रिभोज (गाला डिनर) अघि तीनै नेता रेड कार्पेटमा सँगै उभिएका हुन्।
रुसको क्रेमलिन प्रेस टोलीले टेलिग्राममार्फत सार्वजनिक गरेको भिडियोमा विश्वका तीन शक्तिशाली राष्ट्रप्रमुखहरू एकैसाथ उभिएको दुर्लभ दृश्य देखिएका हुन् ।
सामूहिक तस्बिर खिचाउनु अघि राष्ट्रपति ट्रम्प, राष्ट्रपति सी र सीकी धर्मपत्नी पेङ लियुआन सँगै उभिरहेका बेला रुसी राष्ट्रपति पुटिन त्यहाँ पुगेका थिए।
सो क्रममा पुटिनले ट्रम्पतर्फ अघि बढ्दै हात मिलाए र दुवै नेताले एक - अर्काको काँध थपथपाएर न्यानो अभिवादन साटासाट गरे। सन् २०२५ को अगस्टमा अलास्कामा भएको अमेरिका - रुस शिखर सम्मेलनयता ट्रम्प र पुटिनबीच भएको यो पहिलो प्रत्यक्ष भेट हो ।
साथै, अमेरिका, चीन र रुसका शीर्ष नेताहरू एउटै मञ्चमा सँगै उभिएको पनि यो पहिलोपटक हो । तीन देशका राष्ट्रप्रमुखबीच भोलि -बिहीबार) दिउँसो औपचारिक त्रिपक्षीय भेटवार्ता हुने कार्यक्रम तय भएको छ।
उक्त बैठकमा युक्रेन र इरानको युद्ध, आणविक हतियार नियन्त्रण, कृत्रिम बुद्धिमत्ता -एआई) तथा विश्व व्यापारलगायतका संवेदनशील विषयमा छलफल हुने अपेक्षा गरिएको छ।