२०८३, भाद्र ९ गते

मंगलवार, भाद्र ९ गते २०८३

काठमाडौं महानगर : '२५ अर्ब ७६ करोड ४३ लाखको बजेट ल्यायो '

आइतवार , आषाढ २९, २०८२

 

काठमाडौँ, असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरको १७ औं नगरसभामा उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि बजेट पेस गरेकी हुन् ।

आगामी आर्थिक वर्षको बजेटमा महानगरले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चितकोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने अनुमान गरेको छ ।

क्षेत्रगत रूपमा प्रस्तुत बजेट तथा कार्यक्रमअन्तर्गत आर्थिक विकासमा कुल बजेटको ३ प्रतिशत अर्थात ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

त्यसैगरी सामाजिक विकासमा २० प्रतिशत अर्थात ५ अर्ब २ करोड २८ लाख ६८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

पूर्वाधार विकासतर्फ ५१ प्रतिशत अर्थात १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ रहेको छ भने सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत अर्थात ३ अर्ब १ करोड ३७ लाख २१ हजार प्रस्ताव गरिएको छ । 

कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र तर्फ १४ प्रतिशत अर्थात ३ अर्ब ५१ करोड ६० लाख ८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ  अगामी आर्थिक वर्षमा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनाहरूलाई उच्च प्रथामिकतामा राखिएको छ । 

त्यस्तै फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवर्द्धन, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको क्षमतावृद्धि,एक वडा एक उद्यम कार्यक्रमलाई प्रवर्द्धन गरी रोजगारी र आयवृद्धि गर्ने कार्यक्रमलाई समेत उच्च प्राथामिकतामा राखिएको उपमेयर डंगोलले जनाइन् ।

चालु आर्थिक वर्षका लागि महानगरले २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँ बजेट ल्याएको थियो । 

महानगरले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि ६ करोड रूपैयाँ बढी बजेट ल्याएको हो ।

महानगरले चालु आर्थिक वर्ष १० अर्ब रुपैयाँ राजस्व उठाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार