२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

स्वास्थ्य मन्त्रालय भन्छ

मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल :' पूर्व तयारीबारे विज्ञसँग छलफल '

'अघिल्लो वर्ष एकजना विदेशी ६० वर्षीया महिलामा मङ्कीपक्स सङ्क्रमण देखियाे '

मंगलवार , भाद्र ४, २०८१

 

काठमाडौँ, भदौ  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल रहेको जनाएको छ । मङ्कीपक्स भाइरसको सङ्क्रमण छिमेकी देश भारतमा द्रुत रूपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिएका छन ।

“नेपालमा अघिल्लो वर्ष एकजना विदेशी ६० वर्षीया महिलामा मङ्कीपक्स सङ्क्रमण देखिएकाले पनि नेपाल मङ्कीपक्स सङ्क्रमणको जोखिम नरहेको भन्न सकिँदैन”, उनले  जानकारी दिए ।

उनले मङ्कीपक्सको पूर्व तयारीबारे मन्त्रालयले विषय विज्ञसँग सुझाव लिइसकेको बताए ।  

मन्त्रालयले हवाई तथा सीमा नाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न सङ्घ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको प्रवक्ता डा बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार मन्त्रालयले सातवटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको छ । 

केही दिनयता अफ्रिकी मुलुक कङ्गोमा मङ्कीपक्स भाइरसका घातक प्रजाति ‘क्लेड १ बि’ फैलिरहेको छ ।  मन्त्रालयका अनुसार जनवरी यता मात्र उक्त भाइरसका कारण  ५४८ जनाको मृत्यु भइसकेको छ । 

विश्व स्वास्थ्य सङ्गठनले पनि मङ्कीपक्स सङ्क्रमण बढिरहेकाले विश्वव्यापी जनस्वास्थ्य आपत्कालिक घोषणा गरेको छ ।

 

सर्ने तरिका

मङ्कीपक्स सङ्क्रमित भएको व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा, मानिसको घाउ, खटिरा, बिमिराको सम्पर्कबाट, शरीरमा निस्किएको तरल पदार्थ थुक, र्‍यालको सम्पर्कबाट, सङ्क्रमित बाँदर, मुसा लोखर्केलगायत जनावरबाट र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ ।

 

लक्षण

मङ्कीपक्स सङ्क्रमण भएमा ज्वरो आउने, सामान्यतया ज्वरो आएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतलामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थिहरू बढ्ने गर्दछन् । 

आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्यु हुन सक्दछ ।

मन्त्रालयको पूर्वतयारी प्रतिकार्य र व्यवस्थापन भएता पनि नागरिकबाट जनस्वास्थ्यका मापदण्ड पालना भए मात्र मङ्कीपक्स सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सम्भव हुने जनाइएको छ । 

रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार