चीनका राष्ट्रपति सी चिनफिङले ताइवान समस्याको समाधान गर्नु चिनियाँहरूको आन्तरिक मामिला भएकाले यसबारे आफैंले निर्णय गर्नुपर्ने बताएका छन्। उनले सकेसम्म शान्तिपूर्ण प्रयास गरी एकता गर्ने, त्यो सम्भव नभए बल प्रयोगको अधिकारलाई पनि नत्याग्ने दोहोर्याएका छन्।
बेइजिङमा आजदेखि सुरू भएको एक हप्ता लामो चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औं महाधिवेशनमा एक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी महासचिव सीले भने, ‘ताइवानको पुनः एकीकरणका लागि चीनले बल प्रयोग गर्नसक्छ। तर त्यो उपाय विदेशी हस्तक्षेपकारी शक्ति र केही ताइवान पृथकतावादी शक्ति लक्षित हुनेछ। सम्पूर्ण ताइवान देशबन्धु लक्षित होइन।’
यसअघि पनि बल प्रयोगको कुरा उठाएका सीले यसपटक पनि शान्तिपूर्ण एकीकरणको सर्वोत्तम प्रयास कायम राख्दै जाने तर बल प्रयोगको प्रतिबद्धता भने नत्याग्ने प्रष्ट पारे। उनले भने, ‘एकीकरण तथा राष्ट्रिय पुनः उत्थानको ऐतिहासिक रथ अघि बढ्दै जान्छ। राष्ट्रको पुनरूत्थान गर्ने सपना पक्कै साकार तुल्याइनेछ।’
सी चिनफिङको प्रतिवेदन
चिनियाँ कम्युनिस्ट पार्टीका र अन्य विशेष प्रतिनिधि गरी २३ सयभन्दा बढी प्रतिनिधिहरूमाझ १९औँ केन्द्रीय समितिको तर्फबाट महासचिव सी चिनफिङले प्रस्तुत गरेको प्रतिवेदनमा नवीन विकासको ढाँचालाई तीव्रता दिँदै उच्च गुणस्तरको विकासलाई पछ्याउने, नयाँ औद्योगीकरणलाई अगाडि बढाउने, मुलुकको आधुनिकीकरण, उत्पादनको गुणस्तर, अन्तरिक्ष कार्य, डिजिटल विकासमा चीनको शक्ति बढाउने लगायत विषयहरू समेटिएका छन्।
प्रतिवेदनमा लेखिएको छ, ‘सबै हिसाबले आधुनिक समाजवादी देश निर्माण गर्न सर्वप्रथम उच्च गुणस्तरीय विकासलाई पछ्याउनुपर्छ ।’
सी चिनफिङले चिनियाँ कम्युनिस्ट पार्टीको १८औं महाधिवेशनको १० वर्षमा सीपीसी स्थापनाको शतवार्षिक, चिनियाँ विशेषतायुक्त समाजवादको नयाँ युगमा प्रवेश र तेस्रो गरिबी निवारणजस्ता तीन प्रमुख घटना अनुभव गरेको बताए।
विगत १० वर्षयता चीनको कूल राष्ट्रिय गार्हस्थ उत्पादन मात्रा ५४० खर्ब चिनियाँ युआनदेखि ११४० खर्ब चिनियाँ युआनसम्म बढेको चर्चा गर्दै सीले १४० भन्दा बढी मुलुक र मुख्य व्यापारिक संस्थासँग साझेदारी गरी वैदेशिक लगानी आकर्षित गर्नुका साथै खुलापनको आभाष दिलाएको दाबी गरे।
प्रविधिका क्षेत्रमा चीनले गरेको प्रगति उत्साहजनक रहेको ठहर गर्दै सीले केही महत्त्वपूर्ण प्रविधिको विकास हासिल गरेर रणनीतिक नव उदीयमान उद्योग विकास गरेको चर्चा गरे।
सीका अनुसार मानववाहक अन्तरिक्ष, चन्द्रमा तथा मंगलको अन्वेषण कार्य, समुद्री तथा भूमिगत अन्वेषण, सुपर कम्प्युटर, उपग्रह नेभिगेशन, विमान उत्पादन तथा बायोलोजिकल औषधि आदि क्षेत्रमा भएको प्रगतिले चीनले आविष्कारक मुलुकको परिचय बनाउँदै गएको बताए।
प्रतिवेदनमार्फत् सीले चिनियाँ कम्युनिस्ट पार्टीको मुख्य उद्देश्य विभिन्न जातजाति एकत्रित भएर समाजवादी आधुनिक मुलुकको निर्माण गर्ने, दोस्रो शतवार्षिक लक्ष्य साकार तुल्याउने बताए। उनले भने, ‘सन् २०२० देखि २०३५ सम्म आधारभूत रूपमा समाजवादी आधुनिकीकरणलाई साकार तुल्याइनेछ।
सन् २०३५ देखि यस शताब्दीको मध्यसम्म समृद्ध, लोकतान्त्रिक, सुसभ्य र मेलमिलापयुक्त समाजवादी बलियो मुलुकको रुपमा निर्माण गरिनेछ। आउँदो ५ वर्ष यो उद्देश्यलाई साकार तुल्याउने अवधि हो।’
श्रम, ज्ञान तथा आविष्कारलाई प्राथमिकतामा राख्दै सीले समाजवादी बजार अर्थतन्त्रको विकासका लागि सुधार, उच्चस्तरको खुलापन, विकासको नयाँ ढाँचालाई प्रोत्साहन, आपूर्तिको संरचनात्मक सुधार, विश्व अर्थतन्त्रमा गतिशीलता र विश्वसनीयता, समग्र ग्रामीण पुनरुत्थान, खाद्य सुरक्षा, बीआरआईको गुणस्तरीयता, वातावरणीय प्रदूषण नियन्त्रण, स्वतन्त्र शान्तिपूर्ण कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियम र अन्तर्राष्ट्रिय न्यायिक निष्पक्षताको संरक्षण, भ्रष्टाचार नियन्त्रण लगायतमा उच्च महत्व दिएको उल्लेख गरेका छन्।
१०१ वर्षको चिनियाँ कम्युनिस्ट पार्टीले जनगणतन्त्र चीन स्थापना भएयता ७३ वर्षसम्म अनवरत सत्ता चलाएको छ। प्रत्येक पाँच वर्षमा आयोजना हुने महाधिवेशनमा पार्टी प्रतिनिधिहरूले अघिल्लो केन्द्रीय समितिको प्रतिवेदन र केन्द्रीय अनुशासन निरीक्षण आयोगको प्रतिवेदनको जाँचबुझ, पार्टी विधान संशोधन, पार्टीका महत्त्वपूर्ण समस्यामाथि छलफल, नयाँ केन्द्रीय समिति र केन्द्रीय अनुशासन निरीक्षण आयोगको निर्वाचन गर्नेछ। अक्टोबर २२ तारिख यो महाधिवेशन सम्पन्न हुने कार्यतालिका छ।