काठमाडौं, भदौ । चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । उनको महाराजगञ्ज स्थित मेट्राे अस्पतालमा उपचारको क्रममा बुधबार बिहान निधन भएको निर्माता सन्तोष सेनले जानकारी दिए।
स्वास्थ्यमा समस्या भएर उनलाई सोमबार अस्पताल लगिएको सन्तोषले बताए । ‘उहाँको कलेजोमा समस्या देखिएको थियो, आज बिहान बित्नु भयो।’
सन् २०१४ मा दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘नोभेम्बर रेन’ को कथा, पटकथा र सम्वाद लेखेर उनी चलचित्र क्षेत्रमा भित्रिएका थिए । गुरुङले सन् २०१६ को चलचित्र ‘क्लासिक’, सन् २०१७ को चलचित्र ‘डायरी’ र सन् २०१९ को चलचित्र ‘ए मेरो हजुर’ को कथा लेखेका थिए।
यस्तै सन् २०१८ को चलचित्र डमरुको डण्डिबियोको कथा लेखन तथा निर्देशन गुरुङले गरेका थिए । पछिल्लो समय छेतन ‘हुतुतु’ लेखिरहेका थिए।
गुरुङले डेब्यु गरेकाे चलचित्र नोभेम्बर रेनबाट २०७१ सालको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट लेखकको अवार्ड प्राप्त गरेका थिए ।
गुरुङको लेखन, निर्देशन गरेको अर्को चलचित्र प्रेमगीत ३ प्रदर्शनको लागि तयारीमा छ।
२०३५ साल माघ २२ गते जन्मिएका गुरुङको ४२ वर्षको उमेरमा निधन भएको हाे। उनको अन्तिम सँस्कार बिहीबार गर्ने तयारी गरिएको सन्तोष सेनले बाताए।