काठमाडौं, असार । हास्यकलाकार दीपाश्री निरौलाले 'राजेश हमाल महानायक हो र ?' भन्दै दिएको अभिब्यक्तिलाई लिएर अहिले सामाजिक सञ्जाल तातिरहेको छ । 'महानायक'बारे दिएको अभिब्यक्तिले अहिले उनी विवादमा तानिएकी छिन् ।
उनको अभिव्यक्ति राजेश हमाललाई 'महानायक' को रुपमा स्वीकार गरेका प्रशंसकलाई सह्यै भएन । महानायक बारेको अभिब्यक्तिकै कारण दीपाश्रीलाई सामाजिक सञ्जालमा गालीगलैचाहरु आइरहेको छ ।
यसैबीच गए मध्यराति राजेश हमालले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियोमा दीपालाई माफी दिन आग्रह गरेका हुन्।
भिडियोमा उनले राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला भनेका छन् । उनले भिडियोमा दिपाश्रीको नाम लिएका छैनन् ।
उनले भनेका छन् - 'दर्शकहरूलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु, कि अलि फराकिलो भएर, वृहत चित्रलाई मनन् गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौं।'