२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

त्रिशूली नदीले गर्‍यो सतर्कता तह पार, कोशी ब्यारेजमा खोलियो ३० ओटा ढोका

शुक्रवार , आश्विन ९, २०८३

काठमाडौँ,असोज । अविरल वर्षाका कारण देशका प्रमुख नदीहरूमा पानीको सतह तीव्र बढ्न थालेको छ। नुवाकोट जिल्लास्थित त्रिशूली नदीको धुन्चे जलमापन केन्द्रमा जलसतहले सतर्कताको तह पार गरेको सम्बन्धित निकायले जनाएको छ। नदीमा जलसतह अझै बढ्ने प्रबल सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दा तथा नदी किनारका मार्ग भएर यात्रा गर्ने यात्रुहरूलाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले दिउँसो १२ः४० बजे सूचना जारी गर्दै त्रिशूली नदी आसपासका क्षेत्रमा बाढीको जोखिम बढेकोले गम्भीर रहन चेतावनी दिएको छ। बाढी पूर्वानुमान महाशाखा तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित विपद्जन्य जोखिमबाट सुरक्षित रहन सबैलाई सावधानी अपनाउन अनुरोध गरेका छन्। यसैबीच पूर्वी पहाडी तथा तराईका जिल्लाहरूमा भइरहेको लगातारको भारी वर्षाका कारण सप्तकोशी नदीमा पनि पानीको बहाव उच्च बन्दै गएको छ।

सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले दिएको जानकारी अनुसार शुक्रबार दिउँसो १ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर बग्ने पानीको बहाव २ लाख २९ हजार ९६० क्युसेक प्रतिसेकेण्ड पुगेको छ। नदीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेजका कुल ५६ ओटा ढोकामध्ये (मूल ५२ र नहरका ४) ३० ओटा ढोका खोलेर पानीको निकास दिइएको छ।

बहाव खतराको तहतिर पुगेसँगै कोशी ब्यारेजमा सुरक्षा सतर्कतास्वरूप खतराको सङ्केत जनाउने रातो बत्ती बासिएको छ भने रातो झण्डा समेत फहराइएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। नदीको जलस्तरको अवस्था निरन्तर अनुगमन भइरहेको र बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ। बहाव बढेसँगै कोशी आसपासका तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीहरूमा सुरक्षाकर्मीहरूले माइकिङमार्फत सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन सचेत गराएका छन्।

सप्तकोशी नदीमा पानीको बहाव बढेको समयमा बाढीसँगै बगेर आउने काठ, दाउरा तथा मुढा झिक्न नदी किनारमा जानु निकै घातक र जोखिमपूर्ण हुने भएकाले त्यसतर्फ नजान सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले कडा आग्रह गरेका छन्। नेपाल मौसम विज्ञान विभागद्वारा जारी गरिएको विशेष मौसमी बुलेटिन अनुसार आगामी असोज ११ गते आइतबारसम्म कोशी प्रदेशका विभिन्न स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना कायम रहेकाले थप सतर्क रहन प्रशासनले सबैमा अपिल गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार