२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संविधान दिवस

' म भन्छु- यो सुरुवात हो, अन्त्य होइन ' : प्रधानमन्त्री शाह

संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध

शनिवार , आश्विन ३, २०८३

 

काठमाडौँ, असोज ।

प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन । 

संविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितिले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा उनले सहिदका रगतले लेखिएको संविधान, हामी कामले पूरा गने बताएका छन  ।

प्रधानमन्त्रीले भने, “संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी पूर्ण प्रतिबद्ध छौँ, म यो बाचा आज फेरि दोहोर्‍याउँछु । संविधान जारी भएको दिन हरेक वर्ष आउँछ तर संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्छ, हरेक इमानदार निर्णयबाट, हरेक पारदर्शी नियुक्तिबाट, नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट ।

जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्याय मागेका बताउँदै  उनले सरकारको हरेक कदम त्यही आकाङ्क्षातर्फ केन्द्रित रहेको र रहने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी राज्य हाम्रा लागि सर्तहरू नभइ हाम्रो राष्ट्रिय जीवनको आधार भएका बताए ।

उनले भने, “यस संविधानले नेपाली जनतासँग एउटा वाचा गरेको छ,  विविधताबिचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य,  विकास, समृद्धि एवं सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण हो । एउटा कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन ।

संविधान जति राम्रो भए पनि, त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो कागजको खोस्टो बन्छ । प्रधानमन्त्री शाहले भने, “यो सुरुवात हो, अन्त्य होइन ।

भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ । तर त्यो जरो उखेल्ने हातहरू अब झन् बलिया छन्, झन् धेरै छन् । विकासका लागि सुशासन अनिवार्य पूर्वशर्त हो भन्ने कुरामा सरकार सचेत छ ।

वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रिया अवलम्बन गरेको उनको भनाइ थियो ।

“सुशासन नारा होइन, काम हो, हामी काम गरिरहेका छौ । सङ्घ, प्रदेश र स्थानीय तहबिच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न सङ्घीय सरकार प्रतिबद्ध छ” उनले भने ।

प्रधानमन्त्री शाहले आफूहरु पुरानै बाटो मात्र नहिँड्ने उल्लेख गर्दै कृत्रिम बुद्धिमता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर, नवप्रवर्तन र नवउद्यमलाई अगाडि राखेर, ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिने बताए  ।

डिजिटल सुशासन कार्ययोजना अनुसारको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसैको जग भएको उल्लेख गर्दै प्रधानमन्त्रीले युवाले सडकमा मागेको सुशासन प्रविधिबाट पनि सुनिश्चित गरिने प्रतिबद्धता जनाए । 

प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट भएको क्षति हाम्रा लागि अकल्पनीय र अपुरणीय भएको आजको यस विशेष घडीमा विपद् व्यवस्थापन एवं उद्धारमा सहयोग गरेका सबै मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय एवं संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी, आम नागरिक तथा देशवासीप्रति आभार प्रकट गरे ।
सम्पूर्ण नेपाली जनतामा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को हार्दिक शुभकामना। धन्यवाद

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार