२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

दार्चुलाको चमेलियामा पहिरो  : नदी आंशिक थुनियो, बस्ती जोखिममा

शुक्रवार , भाद्र १९, २०८३

 

दार्चुला, भदौ ।

अपिहिमाल गाउँपालिका भट्टार बस्ती नजिकै शुक्रबार बिहानदेखि खसेको पहिरोले स्थानीय सडक तथा पदमार्ग अवरुद्ध भएको छ।

पहिरोका कारण अपिहिमाल जाने पदमार्गमा ठूलो क्षति पुगेको छ भने भट्टारबाट खायाकोट, ल्वाथी र लुम्चातर्फ जाने बाटोसमेत अवरुद्ध भएको स्थानीयले बताएका छन्।

 

स्थानीय जयप्रकाश लोथ्यालका अनुसार पहिरो भट्टार गाउँनजिकैसम्म पुगेको छ। यही पदमार्ग भएर महादेव आधारभूत विद्यालयसमेत आवतजावत गर्ने गरिन्छ।

पहिरो खस्दै चमेलिया नदीको धारमा पुगेपछि नदी आधाजसो थुनिएको छ।  नदीको एक भागबाट पानी निकास भइरहेको भए पनि पहिरो खस्ने क्रम नरोकिएकाले नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम बढेको छ।

नदी थुनिएर एक्कासि पानीको बहाव बढेमा तल्लो तटीय क्षेत्रमा रहेका बस्ती जोखिममा पर्न सक्ने भन्दै स्थानीय त्रसित छन्।

यसैबीच, जिल्ला प्रशासन कार्यालय दार्चुलाले भट्टार क्षेत्रमा पहिरोका कारण नदी आधा थुनिएको भन्दै तटीय क्षेत्रका बासिन्दा तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासनले सम्भावित जोखिमबाट बच्न नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

साथै वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र ११४५ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ। - अन्नपूर्णबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार