काठमाडौं, साउन ।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विगतमा केही पनि भएन भन्ने भाष्य गलत भएको बताएका छन्। उनले कांग्रेसले देशमा विभिन्न कालखण्डमा भएका क्रान्तिको नेतृत्व गरेर जनताको अधिकारका लागि लडेको बताए।
शुक्रबार काठमाडौंमा आयोजित संस्थापनइतर पक्षको भेलालाई सम्बोधन गर्दै देउवाले २००७ सालको क्रान्तिदेखि २०४६, २०६२- ०६३ / २०७२ सालका आन्दोलनसम्म कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
‘कांग्रेसले विगतमा के गर्यो भन्ने कुरा २००७ सालको क्रान्तितिर जानुपर्छ। त्यसबेला राष्ट्रियता र जनताको गरिबीका लागि कांग्रेसले ठूलो संघर्ष गरेको छ,’ उनले भने, ‘त्यही संघर्षले देश आज यो अवस्थामा आइपुगेको हो।’
देउवाले नयाँ पुस्ताले इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए। इतिहासको पाठबाट मात्रै राम्रो भविष्य निर्माण गर्न सकिने उनको भनाइ छ।
‘अहिलेको नयाँ पुस्ताले पनि त्यो इतिहासबाट सिक्नुपर्छ। विगतमा केही पनि भएन भन्ने भाष्य गलत हो। त्यसलाई चिर्न जरुरी छ,’ उनले भने।
उनले विगतका सबै कुरा नराम्रो भएको भाष्य निर्माण गर्नु उचित नभएको बताए। देउवाले कांग्रेसभित्र देखिएको विवाद संवाद र मेलमिलापबाट समाधान गर्नुपर्ने बताए।
विशेष महाधिवेशनका नाममा विधि र विधान मिचिएको दाबी गर्दै उनले त्यसबारे सर्वोच्च अदालतबाट न्याय पाउने आशा व्यक्त गरे।
‘हामी मेलमिलापको पक्षधर हौँ। पार्टीभित्रका असहमतिलाई सबैको भावनाको कदर हुनेगरी समाधान हुनुपर्छ, व्यक्ति केन्द्रित भएर होइन,’ उनले भने, ‘कांग्रेसको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ। त्यसका लागि म आह्वान गर्न चाहन्छु।’
मुलुकको राजनीतिक अवस्था संवेदनशील रहेको भन्दै देउवाले लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्ने बताए। संकटका समयमा संवाद र सहमतिमा जोड दिनुपर्ने उनको भनाइ छ।
‘राष्ट्रिय सहमतिका आधारमा अहिले अगाडि बढ्नुपर्ने आवश्यकता छ। सबै राष्ट्रिय राजनीतिक शक्तिलाई एकढिक्का बनाएर अघि बढ्नुपर्छ,’ उनले भने, ‘संकटका समयमा संवाद र सहमतिमा जोड दिनुपर्छ। यही मूल्य-मान्यतामा म कटिबद्ध छु।’
आफू प्रजातन्त्रको पक्षमा रहेको स्पष्ट पार्दै देउवाले विगतमा आफूलाई राजतन्त्रात्मक शासनले जेल हालेको स्मरण गरे। उनले त्यतिबेला अदालतले न्याय दिएको भन्दै अहिले पनि न्यायालयले न्याय दिने विश्वास व्यक्त गरे।
‘मैले राजालाई भनेकै हुँ, तर म प्रजातन्त्रको खिलाफमा छैन। म प्रजातन्त्रको समर्थक हुँ। मलाई शाही शासनले जेल हालेकै हो।
त्यतिबेला अदालतले न्याय दिलाएको थियो,’ उनले भने, ‘त्यसैले अहिले पनि न्यायालयले न्याय दिन्छ भन्ने आशा गरेको छु।’
विदेशबाट स्वदेश फर्किँदा स्वागत गर्न विमानस्थल पुगेका सबैलाई धन्यवाद दिँदै देउवाले लोकतन्त्रको रक्षाका लागि कांग्रेसका नेता-कार्यकर्ता एकताबद्ध हुनुपर्नेमा जोड दिए।