काठमाडौं, साउन ।
सरकार आफ्नो बाचाअनुसार नचले वा बाटो बिराए आफ्नै पार्टीले कान समातेर सही ट्र्याकमा ल्याउने सामथ्र्य राख्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दाबी गरेका छन् ।
काठमाडौंमा शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले बताउँदै भने, देशको वर्तमान राजनीतिक वातावरण र सानातिना उतारचढावबाट नआत्तिऔँ ।
विगतका नेतृत्वलाई दोष देखाएर उम्किने पक्षमा आफूहरू नरहेको स्पष्ट पार्दै सभापति लामिछानेले अबको सम्पूर्ण जिम्मेवारी र उत्तरदायित्व आफूहरूले लिने बताए ।
‘हामीले एक मान्छेले अर्को मान्छेलाई प्रमिस गर्या होइन । हामीले हिस्ट्रीलाई प्रमिस गर्या हो, यो देशलाई, यो देशको र आउने जेनेरेसनलाई प्रमिस गरेको हो ।
त्यसकारणले आफ्नो बाचा, आफ्नो प्रतिबद्धताबाट पछाडि हट्ने, भागने छुट हामी कसैलाई पनि छैन,’ उनले थपे, ‘सरकारले आफ्नो बाचा, आफ्नो लक्ष्यअनुसार काम गर्छ ।
सरकारले काम गरेन छ भने हामीसँग राजनीतिक पार्टी छ । बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समाउन सक्ने क्षमता पोलिटिकल पार्टीले जहिले पनि राख्छ ।’
निजी क्षेत्रमा देखिएको अन्योलता र त्रासप्रति लक्षित गर्दै लामिछानेले व्यावसायिक क्षेत्रलाई आतंकित पार्न नहुनेमा जोड दिए ।
सरकारको कामकारबाही र बजारमा फैलिएका राजनीतिक अस्थिरताका हल्लाहरूलाई केवल ‘विकेन्ड स्न्याक्स’को रूपमा लिन आग्रह गरे । ‘
कहीँ कतै सुनिन्छ कहिलेकाहीं योचाहिँ केही गडबड भयो कि, केही बिग्रियो कि, अलिकति राजनीतिक रूपमा अप्ठ्यारो पर्यो कि, झगडा पो पर्यो कि भने जस्ता कहिले काहीं रुमर्सहरू आउँछन्,’ उनले भने, ‘ती रुमर्सहरूलाई तपाईँहरूले मतलब आज विकेन्ड पनि हो, ती रुमर्सहरूलाई आज स्न्याक्सको रूपमा ग्रहण गर्नुहोला । त्यो रुमर्स स्न्याक्स मात्रै हो, त्यसको खासै त्योभन्दा बढी भ्यालु केही पनि छैन ।’
लामिछानेले हवाई उडानको उदाहरण दिँदै सरकार र देशको अवस्थाप्रति थप आश्वस्त पारे । उनले भने, ‘अलिकति टर्बुलियन्सहरू कहिलेकाहीं आइरहन्छन् यो यात्रामा ।
हिँडिरहँदाखेरि बाटोमा कहिलेकाहीं बादलका टुक्राहरूमा जहाज छिर्दाखेरि जहाज हल्लिन्छ । तर, जहाज हलियो भन्दैमा लौ दुर्घटनामा पर्ने भयो कि, खसिहाल्ने भयो कि भनेर डर मान्नु पनि पर्दैन । सिट ब्याक एन्ड रिल्याक्स, हामी सही ढंगले, असल नियतका साथ यो जहाजलाई गन्तव्यमा पुर्याउँछौं ।’
निजी क्षेत्रमा देखिएको अन्योलता र त्रासप्रति लक्षित गर्दै लामिछानेले व्यावसायिक क्षेत्रलाई आतंकित पार्न नहुनेमा जोड दिए ।
व्यापार व्यवसाय गर्दा कानुन परिपालनमा केही कमजोरी भएका भए तिनलाई आर्थिक अपराधका रूपमा हेरिनुपर्ने र अन्य अपराधी जसरी समात्ने वा थुन्ने त्रासमा व्यवसायीले काम गर्न नसक्ने उनको भनाइ थियो ।
सरकार बनेको चार महिना मूल्यांकनका लागि पर्याप्त नभए पनि प्राप्त सल्लाह र सुझावलाई मनन गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउँदै उनले सरकार पूर्ण रूपमा जिम्मेवार भएर काम गर्ने विश्वास दिलाए ।