नेपालगन्ज, साउन ।
सुनसरी सिराहालगायतका जिल्लामा भएका घट्नाका कारण यहाँस्थित नेपाल- भारत सीमा नाकामा उच्च सतर्कता अपनाउँदै नाकामा सुरक्षा व्यवस्था अतिनै कडा पारिएको छ । सीमाना वारि र पारीका दुवै क्षेत्रमा शान्ति र सदभाव खलबलिने गतिविधि तथा क्रियाक्लाप हुन नदिन बाँकेको नेपाल–भारत सीमामा उच्च सतर्कता अपनाउनुका साथै सुरक्षा व्यवस्था कडा पारिएको दुवै देशका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
सोही क्रममा सीमा नाकाको सुरक्षा अवस्था बलियो र सुदृढ बनाउन दुवै देशका सुरक्षा अधिकारीहरुले नाकामा संयुक्त सुरक्षा गस्ती सुरु गरेको भारत रुपैडिहा थानाका प्रमुख प्रभारी निरिक्षक हरेन्द्रकुमार मिश्रले बताए ।
उनका अनुसार शान्ति सुरक्षा खलबलिने गतिविधि नाकाबाट हुननदिन एसएसबी, प्रहरी र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीद्धारा तालिम प्राप्त कुकुरसहितको संयुक्त गस्ती भइरहेको बताएका छन ।
सोही प्रकारले बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले पछिल्लो समयमा सीमा नाकाको सुरक्षा अवस्था अतिनै कडा पारिएको जनाउँदै संयुक्त गस्ती सोही क्रममा भइरहेको बताए ।
उनले दुवै देशका सुरक्षा अधिकारीबिच निरन्तर समन्वय र सहकार्य भइरहेको पनि जनाए । सीमा नाकाको सुरक्षालाई थप सुदृढ पार्न नाकामा आवागमन गर्नेहरुका लागि आधिकारिक परिचयपत्र अनिवार्य गर्दै उनिहरुको नाम ठेगाना टिप्ने कार्य पनि शुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सीमापारी भारततर्फ एसएसबीले पनि परिचय पत्रलाई अनिवार्य गरेर चेकजाँच कडा पारेको रुपैडिहा प्रहरी थानाले जनाएको छ ।
नाकामा कडाई गरिएपछि अनावशयक रुपमा आउने जानेहरुको संख्यामा कमी आएको पाईएको नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । उनले खुला सीमानाकै कारण बिभिन्न गैर कानुनी गतिविधि नाकामा लामो समयदेखि हुँदै आएका छन् । - गोरखापत्रबाट