काठमाडौं, साउन ।
नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विभाजन कम गर्दै विभिन्न धारबीच सहकार्य र एकता सुदृढ गर्ने उद्देश्यसहित पार्टीका युवा नेताहरूले नयाँ अभियान अघि बढाउने घोषणा गरेका छन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा 'देश र कांग्रेस जोड्ने' नाम दिइएको उक्त अभियान सभापति गगन थापा नेतृत्वको पक्ष र संस्थापन इतर समूहबीच संवाद तथा सहकार्यको वातावरण निर्माण गर्ने लक्ष्यका साथ सुरु गर्न लागिएको जनाइएको छ ।
नेता नैनसिंह महर, रञ्जित कर्णलगायतको पहलमा सञ्चालन हुन लागेको अभियानअन्तर्गत साउन २० गते राष्ट्रिय एकता भेला आयोजना गरिने जानकारी दिइएको छ ।
आयोजकका अनुसार पालिका, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित हुने गरी भेलाको तयारी गरिएको छ ।
अभियानका अगुवाहरूले नेपाली काँग्रेसको संगठनात्मक कमजोरीले लोकतान्त्रिक प्रणाली समेत प्रभावित हुन सक्ने र त्यसबाट प्रतिगामी शक्तिलाई लाभ पुग्ने निष्कर्षका आधारमा एकताको पहल आवश्यक भएको बताएका छन् ।
उनीहरुले यो अभियान कुनै व्यक्ति, गुट वा पद केन्द्रित नभई पार्टीको संस्थागत सुदृढीकरण र लोकतान्त्रिक मूल्यको संरक्षणलाई केन्द्रमा राखेर अघि बढाइने स्पष्ट पारेका छन् ।
कार्यक्रमममा बोल्दै नेता नैनसिंह महरले पार्टीभित्र बढ्दो अविश्वास र आन्तरिक किचलोका कारण संगठन कमजोर भएको देखिएकाले अभियानले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा पुनर्जीवित गर्ने लक्ष्य राखेको बताए ।
त्यस्तै, पार्टीका अर्का नेता तथा राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले देश हाल गम्भीर चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दे सुनसरीबाट सुरू भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लासम्म फैलिएको, आर्थिक मन्दी, बेरोजगारी, युवा पलायन र सुशासनको संकटले जनजीवन कष्टकर बनेको बताए ।
उनले सरकार जनगुनासो सम्बोधन गर्न प्रभावकारी नभएको अवस्थामा मुख्य प्रतिपक्ष नेपाली कांग्रेस आफ्नै आन्तरिक विवादमा अल्झिनु लोकतन्त्रका लागि समेत चिन्ताको विषय भएको बताए ।
भेलाले पार्टी एकतालाई संस्थागत बनाउने, जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्ने र कार्ययोजना सार्वजनिक गर्ने नेताहरूले बताएका छन् ।