सुनसरी जिल्लामा गत साउन १२ गतेदेखि लागू गरिएको कर्फ्यु आदेश हटाइएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जारी गरेको आदेश अनुसार शनिबारदेखि कर्फ्यु हटाइएको हो। यद्यपि जिल्लाको संवेदनशील क्षेत्रमा भने निषेधाज्ञा यथावत राखिएको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) (क) बमोजिम तोकिएका क्षेत्रमा एकै स्थानमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस, प्रदर्शन, बैठक तथा धर्ना गर्न निषेध गरिएको प्रजिव अर्यालले बताए।
निषेधाज्ञा लागू गरिएका क्षेत्रमा इटहरी उपमहानगरपालिका - १६ र १७ तथा रामधुनी नगरपालिका - १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ- बायाँ २०० मिटर क्षेत्र, इनरुवा र दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्र, भोक्राहा नर्सिङ गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्र समेटिएका छन्।
जिल्ला प्रशासन कार्यालयले जिल्लाको सुरक्षा अवस्था सामान्य बन्दै गए पनि शान्ति- सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न निषेधाज्ञा केही समय यथावत राखिएको जनाएको छ। प्रशासनले सर्वसाधारणलाई आदेशको पूर्ण पालना गर्न तथा कुनै पनि अफवाहमा नलाग्न आग्रह गरेको छ।