२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आईसीसी क्रिकेट

विश्वकप लिग-२: नेपाल नामिबियाविरुद्ध ब्याटिङ गर्दै

मंगलवार , श्रावण ५, २०८३

काठमाडौँ,साउन । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले अहिले नेदरल्याण्ड्सको भूमिमा आफ्नो महत्वपूर्ण अभियानको शुरूआत गर्दै नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ।नेपालले खराब ब्याटिङ शुरूआत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ ओभर खेल्दा २ विकेट गुमाएर मात्र २२ रन जोडेको छ ।

इशान पाण्डे ३१ बल खेलेर ८ तथा कुशल भुर्तेल २ बल खेलेर २ रन बनाएर आउट भएका छन् । 

यो खेल नेपालका लागि केवल दुई अंक जोड्ने अवसर मात्र नभई सन् २०२७ को एक दिवसीय विश्वकप छनोट यात्रालाई बलियो बनाउने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

आयोजक नेदरल्याण्ड्स, नेपाल र नामिबिया सम्मिलित यस त्रिदेशीय शृङ्खलामा नेपालले कुल चार खेल खेल्नेछ। आज नामिबिया विरुद्धको पहिलो खेलपछि नेपालले साउन ७ गते नेदरल्याण्ड्ससँग, साउन ११ गते पुनः नामिबियासँग र साउन १३ गते फेरि नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

हाल लिग-२ को अंकतालिकामा नेपाल २४ अंकसहित पाँचौँ स्थानमा छ भने नेदरल्याण्ड्स ३२ अंकसहित तेस्रो तथा नामिबिया २२ अंकसहित सातौँ स्थानमा रहेका छन् ।

प्रतियोगिताको शीर्ष चारभित्र पर्न सके विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः स्थान सुरक्षित हुनेछ भने एक दिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई० मान्यता जोगाउन पनि शीर्ष ६ भित्र रहनु अनिवार्य छ। पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपाली टोलीले कीर्तिपुरमा सम्पन्न अघिल्लो शृङ्खलामा आठमध्ये ६ खेल जित्दै शीर्ष चारको दौडमा आफूलाई बलियो रूपमा उभ्याइसकेको छ। 

कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली त्यही आत्मविश्वास र उच्च लयलाई कायम राख्दै नेदरल्याण्ड्स पुगेको हो। यद्यपि युरोपेली मौसम र फरक पिचको चुनौतीबीच पहिलो खेलमै नामिबियालाई पराजित गर्न सके नेपालले अंकतालिकामा स्थिति थप बलियो बनाउन सक्नेछ। नेपालसँग अझै आठ खेल बाँकी रहेकाले विश्वकप ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावना बलियो छ, जसका लागि आजको खेल नेपालको विश्वकप यात्राको दिशा तय गर्ने गतिलो परीक्षा हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार