काठमाडौँ, असार । कप्तान लियोनल मेस्सीले समूह चरणमा ६ गोल पूरा गरेसँगै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।>
समूह जे अन्तर्गत आइतबार बिहान भएको खेलमा अर्जेन्टिनाले एसियाली टोली जोर्डनलाई ३–१ गोलले हरायो । हारसँगै जोर्डन विश्वकपबाट बाहिरिएको छ ।
अर्जेन्टिनाको जितमा जिओभानी लो सेल्सोले १९औँ मिनेटमा खाता खोल्नुभयो । त्यसपछि लौटारो मार्टिनेजले ३१औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो ।
मेस्सीले ८०औँ मिनेटमा फ्रिकिकमा उत्कृृष्ट गोल गर्दै अर्जेन्टिनालाई सजिलै जिताउनुभयो । जोर्डनका लागि मोउसा टामारीले ५५औँ मिनेटमा एक गोल फर्काउनुभयो ।
६०औँ मिनेटमा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गर्नुभएका मेस्सीले डिक्स बाहिबाट हानेको फ्रिकिक प्रहारले सोझै जाली चुमेको थियो । जसलाई विपक्षी गोलरक्षकले नियाल्न समेत सकेनन् ।
मेस्सीको यो जारी विश्वकपमा सर्वाधिक छैटौँ गोल हो । यसअघि मेस्सीले अल्जेरियाविरुद्ध ह्याट्रिक र अस्ट्रियाविरुद्ध दुई गोल गर्नुभएको थियो । यससँगै मेस्सीले विश्वकपको सात खेलमा लगातार गोल गर्ने खेलाडीको कीर्तिमान समेत बनाउनुभएको छ । मेस्सीले विश्वकपमा सर्वाधिक १९ गोल गर्ने खेलाडीको कीर्तिमा समेत बनाउनुभएको छ ।
जितसँगै समूहमा शतप्रतिशत नजिजा निकालेको अर्जेन्टिनाले नौ अङ्क बनाएको छ । यही समूहको अर्को खेलमा अल्जरिया र अष्ट्रियाले ३–३ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । बराबरीसँगै उपविजेता बनेको अल्जेरिया चार अङ्कसहित दोस्रो स्थानमा छ । समान चार अङ्क बनाएको अष्ट्रिया उत्कृष्ट तेस्रो टोलीको रुपमा अगाडि बढ्ने छ । एजेन्सी