२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अमेरिकासँग सम्भावित शान्ति सम्झौता : ' इरानमा विरोध '

आइतवार , जेठ ३१, २०८३

 

मशहद (इरान) , जेठ ।

संयुक्त राज्य अमेरिकासँग सम्भावित शान्ति सम्झौताको चर्चा तीव्र भइरहेका बेला इरानभित्र त्यसको विरोध पनि चर्किन थालेको छ । उत्तरपूर्वी सहर मशहदमा विदेश मन्त्रालयको कार्यालय बाहिर दर्जनौँ प्रदर्शनकारीले सम्भावित सम्झौताविरुद्ध नाराबाजी गर्दै शीर्ष कूटनीतिज्ञ अब्बास अराघचीको राजीनामा माग गरेका छन् ।

इरानी समाचार संस्था फार्सले सार्वजनिक गरेको भिडियोमा कालो पोशाक लगाएका महिलासहित प्रदर्शनकारी रातो र कालो झण्डा बोकेर विदेश मन्त्रालयको कार्यालय अगाडि भेला भएको देखिन्छ ।

उनीहरूले अराघची, राजीनामा देऊ र घुसपेठी मूर्दावाद जस्ता नारा लगाएका थिए । प्रदर्शनको पृष्ठभूमिमा विदेशमन्त्री अराघचीले हालै राज्य टेलिभिजनमा दिएको अन्तर्वार्ता रहेको बताइएको छ ।

उक्त अन्तर्वार्तामा उनले सम्भावित अमेरिकाइरान सम्झौताका केही पक्षबारे सङ्केत गरेका थिए , जसले देशभित्रको राजनीतिक बहसलाई थप तीव्र बनाएको छ । सम्झौताका विरोधीका अनुसार प्रस्तावित व्यवस्था इरानको रणनीतिक हितविपरीत हुन सक्छ ।

यसले हर्मुज जलघाँटीमाथिको तेहरानको प्रभाव कमजोर पार्ने छ र वार्ताकारले अत्यधिक रियायत दिएका छन् भन्ने उनीहरूको तर्क छ । यो असन्तुष्टि विशेष गरी राज्य टेलिभिजनमार्फत सम्भावित सम्झौतामा इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने प्रावधान समावेश हुन सक्ने जानकारी सार्वजनिक भएपछि बढेको बताइएको छ ।

अमेरिका र इरानबिच हर्मुज जलघाँटीको नियन्त्रण लामो समयदेखि विवादको केन्द्रमा रहँदै आएको छ । अराघचीले अन्तर्वार्तामा हर्मुज जलघाँटीको प्रशासन अब पहिले जस्तै रहने छैन भन्दै उक्त जलमार्ग इरानको प्रतिरोधको प्रमुख साधन मध्ये एक भएको बताएका थिए ।

यसैबिच सामाजिक सञ्जालमा प्रसारित अप्रमाणित भिडियोले तेहरानस्थित विदेश मन्त्रालयको मुख्यालय बाहिर पनि यस्तै प्रदर्शन भएको दाबी गरेका छन् । ती दृश्यमा प्रदर्शनकारीले विदेशमन्त्री अराघची र संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफको राजीनामा माग गर्दै नाराबाजी गरेको देखिएको छ ।

गालिबफ वार्ता प्रक्रियामा पनि संलग्न रहेको बताइएको छ । अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा पाकिस्तानी अधिकारीले सम्झौता छिट्टै अन्तिम रूप लिन सक्ने बताएका छन् ।

इस्लामाबादले आइतबार नै विद्युतीय हस्ताक्षरमार्फत सम्झौता सम्पन्न हुन सक्ने सङ्केत गरेको छ । तर तेहरानले भने समयसीमाबारे सावधानी अपनाएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सम्झौता तत्काल सम्पन्न हुने दाबीलाई कम महत्त्व दिँदै यो भोलिपल्ट हुने छैन भनेका छन ।

यद्यपि उनले आगामी दिनमा सम्झौता औपचारिक रूप लिन सक्ने सम्भावना भने अस्वीकार गरेका छैनन् । एएनआई

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार