२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जनता समाजवादी पार्टी

अध्यक्ष यादवले भने :' नेपालले भारतको सीमा कहिँ मिचेको छैन '

आइतवार , जेठ ३१, २०८३

 

वीरगन्ज, जेठ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतको कहिँ पनि सीमा नमिचेको बताएका छन् । वीरगन्जमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले भने, ‘नेपालले भारतको मात्र होइन, कुनै पनि देशको सीमा मिचेको छैन ।

आफू दुई पटक परराष्ट्रमन्त्री भइसकेको अनुभव उल्लेख गर्दै उनले नेपालले भारतको सीमा मिचेको विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी वा प्रमाण आफूले नपाएको बताए ।

उनले भारतले पनि हालसम्म नेपालले आफ्नो भूमि मिचेको भनेर औपचारिक दाबी नगरेको अवस्थामा प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्दै दिएको अभिव्यक्तिप्रति आश्चर्य व्यक्त गरे । ;

अध्यक्ष यादवले सीमा जस्तो संवेदनशील विषयमा बोल्दा तथ्य र प्रमाण आवश्यक हुने भन्दै तथ्य र ऐतिहासिक दस्तावेजका आधारमा आफ्ना कुराहरू पुष्टि गर्न प्रधानमन्त्री शाहलाई चुनौती समेत दिए ।

निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै उनले निर्वाचन आयोगले ७७ वटै जिल्लाबाट एक–एक जना मात्रै प्रतिनिधि सभा सदस्य हुनुपर्ने भनेर ल्याएको सुझावप्रति आपत्ति जनाए ।

निर्वाचन क्षेत्रको निर्धारण जनसंख्याको आधारमा हुनुपर्ने धारणा उनको थियो । मधेस र पहाडको पहिचान तथा आवश्यकताका आधारमा प्रदेशहरूको पुनः संरचना हुनुपर्ने सुझाव उनले दिए ।

हाल प्रदेश सरकारहरू अधिकारविहीन र कामविहीन अवस्थामा रहेको भन्दै उनले प्रदेशहरूलाई स्वायत्त अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिए ।

गत भदौं २३ र २४ गते भएको घटनामा सरकारले थप अनुसन्धान गरी वास्तविकता जनतासामु ल्याउनु पर्ने माग उनले गरे । वर्तमान सरकारमा युवा शक्ति र नयाँ जोश- जाँगर रहेकाले यो सरकारले देशलाई नयाँ दिशा दिन सक्ने अपेक्षा आफूहरुले गरेको उनले बताए ।

पत्रकार सम्मेलनमा मधेस प्रदेशका पूर्व मुख्यमन्त्रीद्वय लालबाबु राउत र जितेन्द्र सोनल, जसपा नेपालका नेता बालकिशोर यादव, रामनरेश प्रसाद यादव लगायतकाको पनि उपस्थिति थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार